नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले भदौ २३–२४ को घटनासम्बन्धमा न्यायिक छानबिन आयोग गठन गर्न माग गरेकी छिन्। देश जलाउनेलाई लखेटी-लखेटी हिसाबकिताब खोज्ने उनको भनाइ छ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा झाँक्रीले भदौ २३–२४ घटना छानबिनका लागि सर्वोच्चका बहालवाला न्यायाधीशको संयोजकत्वमा आयोग गठन गर्नुपर्ने बताएकी हुन्।

'सरकारको सय दिन पूरा भएको छ, एक–एक हिसाब खोज्नेछौं, देश डढाउने विदेशी षड्यन्त्र गर्ने, क्याबिनेटमा बसेर सूचना बेच्ने, यस्ता दलाललाई लखेटी-लखेटी के गर्नुपर्छ त्यसको हिसाबकिताब हामी गर्नेछौं,' झाँक्रीले भनिन्।

झाँक्रीले २०७३ सालतिर 'अकुपाई बालुवाटार' भन्नेहरूपछि 'इनफ इज इनफ' भन्न थालेको र उनीहरूले नै देश जलाएको समेत आरोप लगाइन्।

'देश जलाउनेहरूको बारे मुखमा टेप टाँसेर बस्न मिल्दैन, चाहे हातमा हत्कडी लागोस्, चाहे नेल लगाओस्, यसको विरुद्ध बोल्न छाड्नु हुँदैन,' उनले भनिन्।

झाँक्रीले ब्रेक विना 'एक्सप्रेस वे'मा चलेको सरकार दुर्घटनाको नजिक रहेको टिप्पणी गरिन्।