कैलालीको गोराङ्गेमा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालयको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा एक नेपाली सेनाको मृत्यु भएको छ । एकजना छर्रा लागेर घाइते भएका छन्। 

कैलालीको मोहन्याल गाउँपालिका–७ को जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा हिमाल विक्रम विष्टको मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए। 

उनकाअनुसार विष्टको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा दिउँसो मृत्यु भएको हो। सोही घटनामा सहसेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको तिमिल्सिनाले बताए।

जोशीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ। बिहीबार बिहान सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि खटिएका ग्रिनेड पड्काउने क्रममा घाइते भएका थिए। विस्फोटबाट उनको दाहिने हातको हत्केला तथा शरीरका विभिन्न भागमा छर्रा लागेको थियो।