काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीबीच सडक तथा सहरी सुरक्षासम्बन्धी कार्यमा समन्वय सुदृढ बनाउने विषयमा सहमति जुटेको छ।
यस सन्दर्भमा महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच भेटवार्ता भएको हो। भेटमा सहरी व्यवस्थापनसँग सम्बन्धित विविध विषयमा संयुक्त पहल अघि बढाउनेबारे छलफल केन्द्रित रहेको जनाइएको छ।
महानगर पक्षले ट्राफिक व्यवस्थापन, सार्वजनिक स्थलको संरक्षण, अव्यवस्थित बसोबास व्यवस्थापन, सडक मानवमुक्त अभियान तथा सहरी सेवा सुधारका क्षेत्रमा प्रहरीसँग सहकार्य विस्तार गर्न प्रस्ताव गरेको छ। साथै महानगर प्रहरी बललाई सुदृढ बनाउन पनि सहयोग आवश्यक रहेको धारणा राखिएको थियो।
प्रहरी नेतृत्वले महानगरको आवश्यकता अनुरूप सुरक्षा सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। यसका लागि उपत्यकास्तरमा समन्वय संयन्त्रमार्फत काम अगाडि बढाइने र सम्पर्कका लागि जिम्मेवार अधिकारी समेत तोकिएको जानकारी दिइएको छ।
छलफलका क्रममा लागु औषध नियन्त्रण, सार्वजनिक स्थानमा धूम्रपान तथा मद्यपान नियमन, पार्किङ व्यवस्थापन, ट्राफिक संकेत प्रणाली, रात्रिकालीन सार्वजनिक यातायातको सुरक्षा तथा सडक मानव व्यवस्थापन कार्यक्रमजस्ता विषयमा पनि सहकार्यको आवश्यकता औँल्याइएको थियो।
बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, अन्य पदाधिकारी तथा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीको समेत सहभागिता रहेको थियो।




















