मोरङ – नेपाल भलिबल संघले यु–१९ राष्ट्रिय महिला भलिबल खेलाडीहरूलाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। देशका लागि उत्कृष्ट खेल प्रदर्शन गर्दै राष्ट्रको गौरव बढाएको भन्दै संघले खेलाडीहरूलाई कदरपत्र र सम्मान प्रदान गरेको हो।
यस सम्मान कार्यक्रममा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने एकमात्र खेलाडीका रूपमा मोरङकी कृष्मा डाँगी सम्मानित भएकी छन्। राष्ट्रिय टोलीमा कोशी प्रदेशको तर्फबाट एक्लो प्रतिनिधिको रूपमा स्थान बनाउन सफल कृष्माको यो उपलब्धिले कोशी प्रदेशको खेल क्षेत्रमा नयाँ उत्साह थपेको छ।
मोरङको सुन्दरहरैंचा नगरपालिका, सलकपुरस्थित ब्राइट फ्युचर बोर्डिङ स्कुलबाट हालै माध्यमिक शिक्षा परीक्षा (SEE) दिएकी कृष्माले सानै उमेरदेखि भलिबलमा विशेष रुचि राख्दै आएकी थिइन्। विद्यालय स्तरबाटै खेल यात्रा सुरु गरेकी उनले आफ्नो कडा मेहनत र अनुशासनका कारण राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएकी हुन्।




















