पूर्वको उदाउँदो सहर इटहरी यतिबेला एउटा गम्भीर र डरलाग्दो अभावसँग जुधिरहेको छ। फागुन सुरु भएसँगै सुक्खा मौसम र तीव्र गतिको हावा चल्ने क्रम बढेको छ, जसलाई ‘आगलागीको सिजन’ मानिन्छ। तर, यही संवेदनशील समयमा इटहरी उपमहानगरपालिकासँग भने आगो निभाउने एउटा पनि दमकल छैन। सहर ठुलो छ, विकासका लहरहरू छन्, तर आपत्कालीन अवस्थामा आफ्नो सहर आफैँ जोगाउने सामर्थ्य भने अहिले इटहरीसँग गुमेको छ।
यो सङ्कटको बिउ गत भदौ २४ गते रोपिएको थियो। ‘जेनजी’ आन्दोलनका क्रममा आक्रोशित समूहले इटहरी उपमहानगरपालिकाको कार्यालय परिसरमै पार्किङ गरी राखिएका दमकलहरूमा आगो लगाइदिएका थिए। सोही दिनदेखि इटहरी दमकलविहीन भएको हो। आन्दोलनकारीले दमकल मात्र होइन, विकास निर्माणमा प्रयोग हुने जेसीबी, लोडर, ट्रिपर, रोलर, ग्रेडर र अन्य साना–ठुला सवारीसाधनका साथै महत्त्वपूर्ण कागजातहरू समेत जलाएर खरानी बनाएका थिए। त्यसयता इटहरीमा आगलागी हुँदा छिमेकी पालिकाहरूको भर पर्नुको विकल्प छैन।
यसको एउटा ताजा र तितो उदाहरण बुधवार बिहान इटहरीको व्यस्त बजारमा देखियो। मुख्य चोक नजिकै रहेको न्यू पूर्वाञ्चल आइसक्रिम पार्लर एन्ड कफी सपमा एक्कासि आगो लाग्यो। सहरको मुटुमै आगो लाग्दा पनि इटहरी उपमहानगरको आफ्नै दमकल साइरन बजाउँदै घटनास्थल पुग्न सकेन। आगो निभाउनका लागि प्रहरीले सुनसरीका धरान, दुहबी, रामधुनी, इनरुवा मात्र होइन, छिमेकी जिल्ला मोरङका विराटनगर, सुन्दरहरैंचा, बेलबारी र लेटाङसम्मका दमकललाई गुहानुपर्यो।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालका अनुसार बाहिरबाट दमकल मगाउँदा आइपुग्न समय लाग्ने र त्यसले गर्दा क्षति धेरै हुने गरेको छ। ‘इटहरी पूर्वको एउटा प्रमुख व्यापारिक केन्द्र हो, यहाँ दमकल नहुँदा निकै कठिनाइ भएको छ,’ डिएसपी हमालले भने, ‘सुन्दरहरैंचा नजिकै भए पनि पूर्व–पश्चिम राजमार्ग निर्माणाधीन अवस्थामा रहेकाले बाटोको कारणले दमकल समयमै आइपुग्न सक्दैनन्। टाढाका पालिकाबाट दमकल आउँदासम्म धेरै कुरा जलिसकेको हुन्छ।’ भदौको त्यो अप्रिय घटनापछि इटहरीभित्र मात्रै चार वटा ठुला आगलागीका घटना भइसकेका छन् र ती सबैमा छिमेकीकै भर पर्नुपरेको प्रहरीको तथ्याङ्क छ।
यो समस्या अझै केही महिना लम्किने निश्चित छ। इटहरीका मेयर हेमकर्ण पौडेलले नयाँ दमकल खरिद प्रक्रिया सुरु भए पनि त्यो सहर आइपुग्न समय लाग्ने बताएका छन्। मेयर पौडेलका अनुसार दमकल खरिदका लागि टेन्डर प्रक्रिया पूरा भइसकेको छ, तर दमकल उत्पादक कम्पनीले अर्डर प्राप्त भएपछि मात्र निर्माण गर्ने भएकाले तुरुन्तै पाउन असम्भव देखिएको हो। ‘दमकलको टेन्डर त लाग्यो, तर कम्पनीले बनाउन समय लिने रहेछ। अबको झन्डै तिन महिना पछाडि मात्र इटहरीले नयाँ दमकल पाउने देखिन्छ,’ मेयर पौडेलले भने।
मेयर पौडेलका अनुसार आन्दोलनका क्रममा नगरपालिकाका दुई वटा चल्तीका दमकल र एउटा मर्मत गर्नुपर्ने गरी तीन वटै दमकल काम नलाग्ने भएका थिए। दमकल खरिद प्रक्रिया झन्झटिलो हुँदा सात–आठ महिनाको समय लाग्ने उनको अनुभव छ। ‘अत्यावश्यक चिज नै जलाइदिएपछि त्यसको सास्ती अन्ततः जनताले नै बेहोर्नुपर्ने रहेछ,’ उनले दुखेसो पोखे। उपमहानगरले यो बीचमा दुई वटा ट्याक्टर, एउटा टिपर र दुई वटा साना गाडी खरिद गरे पनि दमकलको अभाव भने टर्न सकेको छैन। धुलो नियन्त्रणका लागि एउटा पानी ट्याङ्की बनाउने काम भइरहे पनि त्यो दमकलको विकल्प भने हुन सक्दैन।
इटहरी मात्र होइन, छिमेकी दमक नगरपालिकाको अवस्था पनि उस्तै छ। दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईँका अनुसार त्यहाँ पनि आन्दोलनका क्रममा एउटा नयाँ दमकल जलेर खरानी भएको थियो। अहिले दमकले दुई वटा पुराना दमकललाई मर्मत गरेर जेनतेन सेवा दिइरहेको छ। 
फागुनदेखि वैशाखसम्मको समय आगलागीको उच्च जोखिम हुने समय हो। यस्तो बेला इटहरी जस्तो घना बस्ती र ठुलो बजार भएको सहर दमकलविहीन हुनुले ठुलो सुरक्षा चुनौती थपेको छ।