लगातार सुक्खा पहिरो खस्दा भेडेटार-नाम्जे सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। भेडेटार–रविराँके सडकअन्तर्गत पर्ने उक्त खण्डमा वर्षापछि माथिबाट ढुंगा र माटो झर्न थालेपछि गए रातिदेखि यातायात सञ्चालन बन्द भएको हो।
भेडेटार इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रमेश प्रधानका अनुसार माथिबाट निरन्तर ढुंगा र माटो खसिरहेकाले पहिरो हटाउन समस्या भइरहेको छ। निर्माणाधिन सडकमा पहिरो झर्ने क्रम नरोकिएकाले सडक खुलाउन ढिलाइ भएको हो।
सडक निर्माणको जिम्मा लिएको एप्को इन्फ्रारेज कम्पनीले पहिरो हटाउन डोजरलगायत उपकरण तयारी अवस्थामा राखेको छ। तर पहिरो झर्ने क्रम रोकिएपछि मात्रै सफाइको काम सुरु गर्ने तयारी गरिएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईको भनाइ छ।
सडक अवरुद्ध भएपछि उक्त मार्ग हुँदै यात्रा गर्ने सवारीसाधन बीच बाटोमै रोकिएका छन् भने यात्रुहरू समस्यामा परेका छन्। स्थानीय प्रशासनले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न र सावधानी अपनाउन आग्रह गरेको छ।




















