नेकपा एमालेबाट निर्वाचित नगरपालिकाका मेयर आफ्नै घरमै कुटिएका छन्।  

झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि गौरादह-५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले मादक पदार्थ सेवन गरेर मेयरको घरैमा गएर कुटपिट गरेका हुन्। सुवेदी एमालेबाट गौरादह नगरपालिकाको मेयरमा विजयी भएका हुन्।

मेयर सुवेदीका अनुसार सिटौला आइतबार साँझ घरमै आएर गालीगलौज गर्दै विवाद गरेका थिए। विवादका क्रममा सिटौलाले आफूमाथि हातपात गरेको सुवेदीले बताए। “उहाँ किन घरमा आउनु भयो, रिसीइवी के हो भन्ने पनि थाहा छैन। एक्कासि घरमै आएर विवाद गर्दै हातपात गर्नुभयो,” मेयर सुवेदीले भने।

प्रहरीका अनुसार सिटौला केही समय जापान बसेर फर्किएका व्यक्ति हुन्। घटनापछि उनलाई आइतबार राति नै प्रहरीले नियन्त्रणमा लिएको छ।

हाल सिटौलालाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।