भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगका संयोजक गौरीबहादुर कार्कीले जेनजी आन्दोलनमा दमन गर्ने सबैलाई कारबाही गर्न सिफारिस गरिएको बताएका छन्।
आइतबार प्रधानमन्त्री कार्कीलाई आयोगको अन्तिम प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले जेनजी आन्दोलनमा भदौ २३ गते युवाहरुलाई गोली हान्न आदेश दिनेदेखि गोली नरोक्ने सबैलाई कारवाही गर्न सिफारिस गरिएको बताए। भदौ २४ गतेको घटनामा पनि दोषि देखिएकालाई कारबाही गर्न सिफारिस गरिएको उनको भनाइ छ।
उनले आयोगले आफ्नो प्रतिवेदन बुझाइसकेको अवस्थामा सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे। आफूहरुले देश, जनता र शहीदको न्यायका लागि निष्पक्ष भएर काम गरेकाले सन्तुष्ट रहेको उनले बताए। उनले केही काम सकिन बाँकी रहेको र निर्वाचनलाई समेत असर पर्ने देखेर निर्वाचनपछि सरकारलाई प्रतिवेदन बुझाएको उल्लेख गरे।
कार्कीले छानबिन आयोगको प्रतिवेदनका आधारमा दोषिलाई कारबाही गर्न नसके अर्को आन्दोलन हुन सक्नेप्रति सरकारलाई सजक गराइएको बताए।




















