विराटनगर। होली पर्वको अवसरमा बिक्रीका लागि बजारमा राखिएका बालेन्द्र शाह (बालेन) को फोटो अंकित करिब २ हजार थान टिसर्ट र भेस्ट मोरङ प्रहरीले बरामद गरेको छ।
मोरङका विभिन्न बजारहरूमा बालेनको फोटो प्रयोग गरिएका पोसाकहरू बिक्री भइरहेको फेला पारेपछि प्रहरीले ती सामग्री नियन्त्रणमा लिएको हो।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले व्यक्तिगत फाइदाका लागि केही व्यक्तिहरूले अनुमति बिना बालेनको फोटो प्रयोग गरी टिसर्ट र भेस्ट बनाएर बेचिरहेको पाइएकाले जफत गरिएको जानकारी दिए।
प्रजिअ कट्टेलका अनुसार बरामद गरिएका सामग्रीहरू अब के गर्ने भन्ने विषयमा हालसम्म कुनै निर्णय भइसकेको छैन। ‘केही व्यक्तिले व्यक्तिगत फाइदाका लागि बालेनको फोटो प्रयोग गरी व्यापार गरिरहेको थाहा पाएपछि हामीले ती सामग्री नियन्त्रणमा लिएका हौँ,’उनले भने।
विगतका वर्षहरूमा यस्ता फोटो अंकित सामग्रीहरू खुला रूपमा बिक्री–वितरण गर्न दिइएको भए पनि यसपटक भने प्रशासनले यसमा कडाइ गरेको छ। बालेन झापा ५ का उम्मेदवार समेत हुन्। निर्वाचनको मौन अधिमा यस्ता सामग्रीहरू प्रयोग गर्दा गर्दा आचार संहिता विपरीत हुने भएकाले नियन्त्रणमा लिएको प्रशासनले जनाएको छ।
होलीको समयमा चर्चित व्यक्तित्वका फोटो भएका टिसर्टहरूको माग बढ्ने भएकाले व्यापारीहरूले व्यावसायिक प्रयोजनका लागि यस्ता सामग्री बजारमा ल्याएका थिए।




















