उर्लाबारी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा मोरङ क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ । यस क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार रहेका खड्ग फागो यतिबेला मतदाताका बीचमा सबैभन्दा बढी चर्चा र रोजाइमा परेका नेताका रूपमा देखिएका छन् । उर्लाबारी नगरपालिकाको पूर्वमेयर रहँदा आफ्नो कार्यक्षमता प्रदर्शन गरिसकेका फागोलाई यस क्षेत्रका मतदाताले बोल्नेभन्दा काम गर्ने नेताका रूपमा हेर्ने गरेका छन् ।
खड्ग फागोको परिचय केवल एक राजनीतिकर्मीमा मात्र सीमित छैन । उनी संकटका बेला जनताको अभिभावक बनेर उभिने नेताका रूपमा परिचित छन् । कोरोना महामारीका बेला लकडाउन उल्लंघन गर्ने र जनस्वास्थ्यमा खेलबाड गर्नेहरूलाई नियन्त्रण गर्न उनले चालेको ‘लाठोकदमले उनलाई देशभर चर्चामा ल्याएको थियो । कतिपयले यसलाई कठोर कदम भने पनि स्थानीय जनताले भने यसलाई समाजमा अनुशासन कायम राख्न र नागरिकको ज्यान जोगाउन एउटा साहसी नेतृत्वले चाल्नुपर्ने कदमका रूपमा स्मरण गर्छन् ।
मेयर हुँदा उर्लाबारीको पूर्वाधार विकास, सडक सञ्जाल र सामाजिक सुरक्षामा फागोले पुर्याएको योगदान नै अहिले उनको चुनावी प्रचारको मुख्य कडी बनेको छ । उर्लाबारी, लेटाङ, केराबारी र मिक्लाजुङका कुना–कन्दरासम्म पुगेर जनताको समस्या बुझ्ने र तत्काल समाधान खोज्ने उनको स्वभावले उनलाई अन्य उम्मेदवारभन्दा अगाडि राखेको छ । लेटाङका एक स्थानीयका अनुसार जनतालाई कुरा गर्नेभन्दा पनि काम गरेर देखाउने नेता चाहिएको छ, जुन क्षमता खड्ग फागोमा प्रस्ट देखिन्छ ।
यसअघि २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका डिगबहादुर लिम्बुले जितेको यो क्षेत्रमा कांग्रेसको बलियो संगठन छ । फागोले सोही विरासतलाई थप उचाइमा पुर्याउने संकल्प गरेका छन् । बहुजातीय र बहुसांस्कृतिक बनोट रहेको मोरङ–१ मा जनजाति समुदाय र युवा मतदाताको विशेष झुकाव फागोप्रति देखिएको छ । पार्टीभित्र र बाहिर रहेका सबैलाई मिलाएर लैजान सक्ने र विपक्षीको गढमा समेत आफ्नो प्रभाव जमाउन सक्ने उनको खुबीले चुनावी मैदानमा उनलाई सशक्त बनाएको छ ।
मुलुकको राजनीतिमा नयाँ र पुराना शक्तिबीचको बहस चलिरहँदा मोरङ–१ मा भने ुपरिक्षित र सफलु नेतृत्वको खोजी भइरहेको देखिन्छ । चुनावी मैदानमा १८ जना भए पनि खड्ग फागोको स्पष्ट अडान, विकासप्रतिको हुटहुटी र निडर स्वभावले उनलाई विजयको नजिक पुर्याएको राजनीतिक विश्लेषकहरूको भनाइ छ । फागुन २१ को मतदानले उनलाई संसद्को यात्रा तय गराउँछ कि गराउँदैन, त्यो हेर्न बाँकी भए पनि हालका लागि उनी यस क्षेत्रका सबैभन्दा प्रभावशाली र आशालाग्दा उम्मेदवारका रूपमा उभिएका छन् ।




















