संखुवासभाको मकालु गाउँपालिका–५ र २ जोड्ने बेलीब्रिज भाँचिएको छ। मकालु–५ को नुम र वडा नं २ सेदुवा जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलीब्रिज भाँचिएको हो।
आज बिहान हेभी सवारीसाधन तार्ने क्रममा पुल भाँचिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी कुमारप्रसाद मैनालीले जानकारी दिए।
बेलीब्रिज भाँचिँदा प्रदेश–०३–००१ क २९२० नम्बर ट्रक अरुण नदीमा खसेको छ। ट्रक नदीमा खसेर दुर्घटना हुँदा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ का ४० वर्षीय अर्जुन श्रेष्ठ गम्भीर घाइते भएका छन्।
घाइते चालकको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचारपश्चात् काठमाडौँ लैजाने तयारी भइरहेको छ। निर्माणाधीन कासुवा हाइड्रो पावर कम्पनीको निर्माण सामग्री लिएर गएको लोवेट ट्रक पुल भाँचिएपछि अरुण नदीमा खसेको हो। अरुण नदीको बेलीब्रिज भाँचिएपछि नुम–सेदुवा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने आवतजावत ठप्प बनेको छ।
यस मार्ग हुँदै मकालु बेसक्याम्प जाने आउने गरिन्छ। पुल भत्किँदा स्थानीय, पर्यटक तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा प्रत्यक्ष असर परेको । उक्त पुल मर्मत तथा वैकल्पिक व्यवस्था मिलाउन समन्वय भइरहेको छ। विशेषगरी कासुवा हाइड्रोपावरसँग मर्मतसम्भारका विषयमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।




















