झापाको बाह्रदशी गाउँपालिका–१ बोक्राझारीमा जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

प्रहरीका अनुसार फागुन ७ गते बिहानको समयमा स्थानीय लखनलाल राजवंशीकी श्रीमती अन्दाजी ५० वर्षीया लीला राजवंशी घरमा पानी हाल्ने क्रममा सोही समयमा नजिकै रहेको लक्ष्मीनाथ सामुदायिक वन भागुडुब्बा क्षेत्रबाट एउटा जङ्गली हात्ती बस्तीमा प्रवेश गरी उनीमाथि आक्रमण गरेको थियो। आक्रमणबाट गम्भीर घाइते भएकी राजवंशीलाई तत्काल उपचारका लागि बि एण्ड सी अस्पताल बिर्तामोड लगिएको थियो।

उपचारकै क्रममा फागुन १२ गते बिहान अस्पतालमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव सोही अस्पतालमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।