बेलबारी ।  ‘गाउँ–गाउँमा सिंहदरबार’ पुगेको भनिए पनि मोरङको बेलबारी नगरपालिकाका नागरिकले भने आफ्नै घरदैलोको सरकारको उपस्थिति महसुस गर्न पाएका छैनन्। नगरपालिकाको कार्यालयकै आसपासको सडक  ट्रिपरले यस्तो हालत बनाएको छ कि कालो पत्रे भत्केर हिलाम्मे बनाएको छ त्यहाँबाट पैदल हिँड्न त परै जाओस्, सवारी साधन चलाउनु पनि जोखिमपूर्ण बनेको छ।

नगरपालिकाकै छेउमा रहेको यो बाटोको दुरावस्थाले मेयर दिलप्रसाद राई र उपमेयर नितु थापा कोइरालाको कार्यक्षमतामाथि नै गम्भीर प्रश्न उठाएको छ। आफ्नै कार्यालयको झ्यालबाट देखिने हिलो र खाल्डाखुल्डी नदेख्ने मेयर–उपमेयरले  नगरभरिको विकास कसरी गर्लान् भन्ने प्रश्न अहिले बेलबारीका चोक–चोकमा उठ्न थालेको छ।
स्थानीय बासिन्दा श्री प्रसाद भट्टराईका अनुसार यो समस्या आजको होइन। विगत डेढ वर्षदेखि नागरिकले यो सास्ती भोगिरहेका छन् ।‘बाटो ३० सेन्टिको बनाइएको छ, तर त्यसमाथि गह्रौँ टिपरहरू गुड्छन्। यो बाटोले टिपरको भार धान्न सक्छ कि सक्दैन भन्ने मूल्याङ्कन नै गरिएको छैन,’भट्टराई आक्रोश पोख्छन्।

नगरपालिकाकै आँखा अगाडि दैनिक ८–१० वटा टिपरहरू लस्करै कुद्छन्, जसले गर्दा बाटो पूर्णरूपीमा बिग्रिएर ‘विकट’ बनेको छ। तर, विडम्बना  अहिलेसम्म नगरपालिकाबाट न कुनै अनुगमन भएको छ, न त सुधारका लागि कुनै पहल नै। स्थानीयहरू भन्छन्, ‘मेयर र उपमेयरलाई धेरै पटक भनियो, तर उहाँहरू सुतेर बस्नुभएको छ ।’
चुनावका बेला ठुला–ठुला चिल्ला कुरा गरेर भोट मागेका मेयर दिलप्रसाद राई र उपमेयर नितु थापा कोइराला अहिले भने आफ्नै कार्यालय मुनिको बनिसकेको बाटोमा त्रिपरले भत्काउँदा देखे पनि न देखे झैँ गरेका छन्। टिपरले सडक ध्वस्त बनाउँदा पनि उनीहरू मुकदर्शक बनेर बस्नुले कस्तो प्रश्न गर्लान् जनताले ?

नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरू यही बाटो भएर कार्यालय आउँ–जाऊ गर्छन्। तर, नागरिकको पीडामा उनीहरूलाई कुनै चासो छैन। ‘नगरपालिकाबाट सोधपुछ गर्न समेत कोही आएको छैन,’स्थानीय भट्टराई भन्छन्।

बेलबारीका नागरिक अहिले प्रश्न गरिरहेका छन्– ‘मेयर ज्यू कुर्सीको मोज मस्ती कहिलेसम्म ? नगरपालिकाकै नाकमुनिको कालो पत्रे भत्किनबाट कैलेदेखि जोगाउने रु मेयर राई र उपमेयर थापाको यो अकर्मण्यताले बेलबारीको इज्जत मात्र घटाएको छैन, स्थानीय सरकारप्रतिको विश्वास समेत डगमगाएको छ। अब पनि चेत नखुले बेलबारीका जनताले यसको हिसाब ढिलो–चाँडो पक्कै माग्नेछन्।