मोरङ निर्वाचन क्षेत्र नम्बर–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उमेदवार चयनका विषयमा विवाद उत्पन्न भएको छ। विवाद सतहमै देखिएको छ।

उक्त क्षेत्रबाट पार्टी प्रवक्ता मनिष झाको निर्देशनमा सम्झना पण्डितको नाम हटाई मधेस प्रदेशको समानुपातिक सूचीमा समावेश गरिएको र प्रत्यक्षतर्फ आफ्नो स्वार्थअनुसार आशा झाको नाम राखिएको एउटा पक्षले आरोप लगाएको छ।

नेता प्रमोद मण्डलले भने एउटै क्षेत्रबाट पण्डित र झाको नाम सिफारिस हुँदा एकजनाको हटाइएको जिकिर गरेका छन्। यसबारे उनले सामाजिक सञ्जालमार्फत पनि धारणा सार्वजनिक गरेका छन्।

यसै विषयमा स्पष्ट पार्न मंगलबार आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा मोरङ–५ का रास्वपाका नेता–कार्यकर्ता उपस्थित हुने जनाइएको छ।