विराटनगर ।नेपाली कांग्रेसले मोरङ क्षेत्र नम्बर ३ मा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि डा। सुनिल शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आगामी २१ फागुनमा हुने निर्वाचनका लागि शर्माले नै पार्टीको आधिकारिक टिकट पाएका हुन् ।
सोमबार गगन थापाको नेतृत्वमा बसेको बैठकले शर्मालाई उक्त क्षेत्रबाट उम्मेदवार बनाउने निर्णय गरेको हो । डा. शर्मा सोही क्षेत्रका बहालवाला सांसद समेत हुन् । उनी लामो समयदेखि मोरङ ३ बाटै निर्वाचन लड्दै आएका छन् ।
यसअघि २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डा.शर्मा भारी मतान्तरले विजयी भएका थिए । उक्त निर्वाचनमा उनले ४८ हजार ६३१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले २५ हजार ८९५ मत मात्र पाएका थिए । झण्डै २३ हजारको मतान्तरले विजयी भएर शर्माले यो क्षेत्रमा आफ्नो बलियो पकड साबित गरेका थिए ।
यद्यपि, सोही क्षेत्रमा २०७४ सालको निर्वाचनमा भने शर्मा पराजित भएका थिए । अघिल्लो हारलाई २०७९ मा सानदार जितमा बदलेका शर्माले यसपटक पनि कांग्रेसको विरासत जोगाउने जिम्मेवारी पाएका छन् ।




















