विराटनगर । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले कोशी प्रदेशका केहि क्षेत्र बाहेक उम्मेदवारहरूको टुगो लगाएको छ। एमालेको बलियो जनाधार मानिने यस प्रदेशमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पूर्वमुख्यमन्त्री र प्रभावशाली नेताहरूको टिकट पक्का भएको छ भने केही क्षेत्रहरूको निर्णय गर्ने अन्तिम जिम्मा अध्यक्ष ओलीलाई नै दिइएको छ।

विवरण अनुसार झापा क्षेत्र नम्बर ५ बाट अध्यक्ष ओली नै चुनावी मैदानमा उत्रिने निश्चित भएको छ। झापाका अन्य क्षेत्रहरूमध्ये क्षेत्र नम्बर १ मा रामचन्द्र उप्रेती, २ मा देवराज घिमिरे र ४ मा मनोज ताम्लीको नाम टुंगो लागेको छ। क्षेत्र नम्बर ३ को निर्णय भने अध्यक्षले नै गर्नेछन्, जहाँ एमालेले यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सघाउँदै आएको थियो। यसपटक पनि अध्यक्ष ओलीले आफू झापा ५ मा सुरक्षित रहन राप्रपासँग सहकार्य गर्न सो क्षेत्र खाली राखेको हुनसक्ने अनुमान गरिएको छ। झापा २ मा आकांक्षी देखिएका नेता अग्नी खरेल भने यसपटक पनि टिकटबाट वञ्चित भएका छन्।

प्रदेशको सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको मोरङ जिल्लामा पनि एमालेले अधिकांश क्षेत्रको टुंगो लगाएको छ। मोरङ क्षेत्र नम्बर १ मा घनश्याम खतिवडा, २ मा दिलीप बगडिया, ३ मा दिलीप राई र ४ मा जीवन घिमिरेले एमालेको तर्फबाट प्रतिस्पर्धा गर्नेछन्। रंगेली नगरपालिकाका प्रमुख रहेका बगडियालाई यसपटक ऋषिकेश पोखरेलको स्थानमा अघि सारिएको हो। मोरङको क्षेत्र नम्बर ५ र ६ को निर्णय भने अध्यक्षले गर्ने गरी खाली राखिएको छ। क्षेत्र नम्बर ५ मा एमालेले राष्ट्रिय ऊर्जाशील पार्टीका संयोजक योगी मण्डललाई सहयोग गर्न सक्ने सम्भावना छ भने क्षेत्र नम्बर ६ मा विनोद ढकाल, लालबाबु पण्डित परशुराम बस्नेत चर्चामा छन्। 

सुनसरी जिल्लामा क्षेत्र नम्बर १ बाट सूर्य पन्दाक र ४ बाट भगवती चौधरीको नाम पक्का भएको छ। १ का उम्मेदवार पन्दाक नयाँ अनुहार हुन् भने चौधरी यसअघि क्षेत्र नम्बर ३ बाट विजयी भएकी थिइन्। सुनसरी २ र ३ को व्यवस्थापन अध्यक्षले नै टुङ्ग्याउने गरी थाती राखिएको छ। एक क्षेत्र बाट भने जगदिश कुसियतले पाउने गरी टुगाइएको छ। 

यता पहाडी तथा हिमाली जिल्लाहरूमा एमालेले पुराना  नेताहरूलाई नै दोहो¥याउने रणनीति लिएको छ। भोजपुरबाट पूर्वमुख्यमन्त्री शेरधन राई, धनकुटाबाट राजेन्द्र राई र तेह्रथुमबाट पूर्वमन्त्री भानुभक्त ढकाललाई टिकट दिइएको छ। गत निर्वाचनमा मोरङ ३ बाट पराजित भएका ढकाल यसपटक तेह्रथुम सिफ्ट भएका हुन्। 

इलामका दुई क्षेत्रमा क्रमशः काजिमान कागते र युवा नेता सुहाङ नेम्वाङलाई अघि सारिएको छ। सुहाङ स्वर्गीय सुवास नेम्वाङका छोरा हुन्। त्यस्तै पाँचथरमा ऐन्द्रसुन्दर नेम्वाङ, संखुवासभामा डा. अर्जुन कार्की र खोटाङमा देवविक्रम राईको नाम सूचीमा समावेश छ। संखुवासभामा राजेन्द्र गौतम र खोटाङमा विशाल भट्टराईको लगयतका नेताहरूको नाम यसपटक काटिएको छ। उदयपुरमा दुर्गा थापा स्वोतीक र अमर रायमाझीले टिकट पाउने भएका छन्।

एमालेले यसपटक कोशी प्रदेशमा महिला उम्मेदवारहरूलाई पनि प्रत्यक्ष तर्फको जिम्मेवारीमा विशेष जोड दिएको छ। सुनसरीमा भगवती चौधरी, सोलुखुम्बुमा कल्पना राई र ओखलढुंगामा अस्मिता थापालाई उम्मेदवार बनाउने निर्णय भएको छ। यी जिल्लाहरूमा यसअघि निर्वाचित भएका मानवीर राई र यज्ञराज सुनुवारको नाम यसपटक हटाइएको छ। कल्पना राई मानविर प्रतिनिधि सभा सदस्य भएका बेला उनको स्वकिय सचिव भएकि थिइन्। अस्मिता थापा लिखु गाउँपालिका वहालवाला उपाध्यक्ष हुन्। उनी संस्थापन पक्षकी हुन्। यो जिल्लामा इश्र पोख्रेल पक्षको बचश् ताप्लेजुङको हकमा भने उपमहासचिव योगेश भट्टराईसहित क्षितिज थेबे र तिलकुमार मेन्याङ्बोको नाम सिफारिस भए पनि अन्तिम निर्णयको अधिकार अध्यक्ष ओलीलाई नै सुम्पिएको छ।