नेपाली कांग्रेसले शेरबहादुर देउवाको अभिभावकीय भूमिकाको खाँचो रहेको जनाएको छ। शनिवार नयाँ बानेश्वरमा बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकबाट देउवालाई अभिभावकीय भूमिकामा बस्न आग्रह गरिएको छ।
काँग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीमा देउवाले पुर्‍याएको योगदान र नेतृत्वको उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गर्ने निर्णय गरिएको जानकारी दिए। उनले आउँदा दिनमा पार्टीलाई देउवाको अभिभावकीय भूमिका निरन्तर रहिरहने विश्वास गरिएको पनि बताए।
निवर्तमान केन्द्रीय कार्यसमिति र अरू नेतालाई पार्टीको काममा फर्कन समेत बैठकबाट आग्रह गरिएको छ। पार्टीलाई अझ बढी बलियो बनाउन आ–आफ्नो तहबाट महत्त्वपूर्ण योगदान पुर्‍याउन सबैसँग आग्रह गरिएको प्रवक्ता चालिसेले बताए।
उनले पार्टीले निर्वाचन केन्द्रित गतिविधि सञ्चालन गर्न लागेको पनि जानकारी दिए। आसन्न आमनिर्वाचनका निम्ति छोटो समय रहेकाले यससम्बन्धी काम गर्न तत्कालै संसदीय बोर्डको बैठक बस्ने उनले बताए।
बोर्डको बैठक बसेर उम्मेदवार छनोटलगायत काम गर्ने उनले जानकारी दिए। उनले पार्टी निर्वाचनमा केन्द्रित भएको पनि बताए।
“छोटो समयमा धेरै टाढा टाढाका साथीहरूको निर्वाचनसम्बन्धी निर्णय लिनुपर्नेछ। उम्मेदवार छनोट गर्नुपर्नेछ। पार्टीको संसदीय बोर्डको बैठक हामी तत्कालै आजैदेखि बस्नेछौँ र चाँडोभन्दा चाँडो काम गर्नुपर्ने भएको हुनाले अहिले हामी काममा बढी केन्द्रित छौँ,” उनले भने।
उनले निर्वाचन आयोगले काँग्रेसको विधान र संविधानअनुसार नै आफूहरूलाई मान्यता दिएकाले मुद्दा मामिला नलाग्न अर्को पक्षलाई आग्रह पनि गरे।
देउवा पक्षका नेताहरूले शनिवार नै बैठक बसी आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेका थिए।