मोरङ । मोरङको बेलबारीमा जारी ‘दोस्रो बेलबारी महोत्सव २०८२’ साहित्यमय बनेको छ। बेलबारी उद्योग वाणिज्य सङ्घको आयोजनामा पुस २६ बाट सुरु भएको महोत्सवमा कला साहित्यले महत्त्वपूर्ण स्थान पाउँदै आएका छन्। आयोजकले माघ २ गतेलाई साहित्य उत्सवको रूपमा मनाएको छ।
स्थानीय उद्योग व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यका साथ सुरु भएको यो महोत्सव माघ ५ गते समापन हुने कार्यक्रममा हरेक दिन विभिन्न कलाकारको प्रस्तुति दिँदै आएका छन् ।
‘स्रष्टा सिर्जना हाम्रो गहना’ नाम दिइएको उक्त कार्यक्रममा बेलबारीमा रहेका विभिन्न साहित्यिक संस्थाहरूको सक्रियता रहेको थियो।
बेलबारी साहित्य विकास समितिको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार हर्कमान तामाङ, बेलबारीका स्रष्टा एवम् राजनीतिकर्मी इरान राई, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, आम्लाबुङ साहित्य संसारका अध्यक्ष धनजित पराजुली, अलङ्कार कला केन्द्रका अध्यक्ष चण्डी साङपाङ राईलगायतका साहित्यिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा भाषा साहित्यका अतिरिक्त विद्यालयका शिक्षक, विद्यार्थी तथा विभिन्न सामाजिक क्षेत्रका व्यक्तित्वहरूको समेत बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा तिला लेकाली, नवराज पोखरेल ‘नवशिला’, कोपिला आस्था राई, विष्णु भण्डारी आचार्य, चिरञ्जीवी काफ्ले, गोविन्द हुक्पा चोङ्बाङ, नीरु गौतम, उमा सिजापती, शिव पराजुली, राजु परियार, शिक्षा भट्टराईलगायतका स्रष्टा तथा कमलमणि नेपाल (खुपीका बा), चण्डी साङपाङ राई, सुरेश राई, सानु राईलगायतका कलाकारको साङ्गीतिक प्रस्तुतिसमेत रहेको थियो। उक्त अवसरमा लक्ष्मी मावि, बेलबारी ११ की छात्रा सपना बुढाथोकी, भगवती मावि, बेलबारी ३ की छात्रा अनुशा सुवेदी, शिक्षा सन्देश इङ्ग्लिस स्कुल, बेलबारी २ की छात्रा तपश्याश्री ढकाल, सगरमाथा इङ्ग्लिस स्कुल, बेलबारी १ का छात्र युसन सापकोटा र कबीर मावी, बेलबारी २ की छात्रा सीता थापाले आआफ्ना रचना वाचन गरेका थिए । उक्त कार्यक्रममा रमेश निरौलाको भावका भँगालाहरू (गजलसङ्ग्रह) भित्रका दुईओटा गजल, चिरञ्जीवी काफ्लेको एउटा गजल सङ्गीतमा प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको सञ्चालन बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको रहेको थियो ।




















