नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आसन्न आईसीसी ट्वान्टी–२० विश्वकपका निम्ति तयारी राम्रो भइरहेको र गर्व गर्न लायक प्रदर्शन गर्ने बताएका छन्।

आउँदो फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा टी–२० विश्वकप आयोजना गरिँदै छ। सोही विश्वकपको तयारीका निम्ति नेपाली टोली आइतबार (माघ ४) श्रीलंका प्रस्थान गर्दैछ। त्यहाँ नेपाली टोलीले श्रीलंका ‘ए’सँग तीन टी–२० खेल खेल्नेछ।

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले श्रीलंका ‘ए’को टोली राम्रो हुने श्रीलंका क्रिकेटले आश्वासन दिएको बताए।

विश्वकपअघि नेपाली टोलीले भारत र श्रीलंकामा गरेर कुल १२ दिनको तयारी गर्नेछ। नेपाली टोलीका कप्तान रोहितले यो तयारी पर्याप्त र राम्रो हुने भन्दै यसपल्टको विश्वकपमा देशले गर्व गर्न लायक प्रदर्शन गर्ने बताएका हुन्।

नेपाल प्रिमियर लिग (एनपीएल)पछि केही दिन विश्राम लिए पनि तयारी सुखद रहेको उनले उल्लेख गरे। उनले तेस्रोपल्ट विश्वकप खेल्न आफ्नो टोली उत्साहित रहेको बताए।

अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न पछिल्लो विश्वकपमा ब्याटिङका निम्ति पिच सहज नहुँदा रन बनाउन सबैलाई कठिन भएको रोहितले सुनाए। वाङखडे (भारत) रंगशालामा ‘हाई स्कोरिङ’ पिच भएकाले ब्याटरलाई सहज हुने उनको भनाइ छ। त्यहीअनुसार तयारी गरेको उनले बताए। उक्त पिचका निम्ति बलरले पनि राम्रो तयारी गर्नुपर्ने उनले उल्लेख गरे।

नेपाली टोलीले चारै खेल वाङखडेमा खेल्ने तालिका छ। विश्वकपअगाडि नेपाली टोलीले दुई अभ्यास खेल वाङखडेभन्दा एक किलोमिटर मात्र टाढा रहेको बारबोर्न क्रिकेट स्टेडियम (क्रिकेट क्लब अफ इन्डिया)मा खेल्नेछ। उक्त अभ्यास खेलले वाङखडेको ‘कन्डिसन’मा झिज्न नेपाली टोलीलाई मद्दत पुर्‍याउनेछ।

नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट लले भारत र श्रीलंकामा हुने अभ्यासमा नेपाली टोलीलाई विश्वकपलक्षित भूमिकामा तयार बनाउने बताए। विश्वकप खेल्नु खेलाडीसँगै प्रशिक्षक र म्यानेजमेन्टका निम्ति पनि गर्वको क्षण हुने उनको भनाइ छ।

उनले यो नेपालले गर्व गर्ने विश्वकप हुने आशा व्यक्त गरे। पछिल्ला तीन सातादेखि विश्वकपका निम्ति तयारी पनि गरेको उनले बताए।

क्यानले शनिबार (माघ ३) एक कार्यक्रमबीच नेपाली टोलीको बिदाइ गरेको छ। अध्यक्ष चन्दसहितका पदाधिकारी र नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले नेपाली टोलीको बिदाइ गरेका हुन्।

त्यस अवसरमा नेता शर्माले वेस्ट इन्डिजसँगको टी–२० शृंखला जितेको नेपाली टोलीलाई पूर्वघोषित २० लाख रुपैयाँ पनि हस्तान्तरण गरे। आउँदो विश्वकपमा सुपर आठमा पुगे २० लाख रुपैयाँ दिने उनले बताए।

क्यानका सचिव तथा पूर्वकप्तान पारस खड्काले नेपाली क्रिकेट टोलीबाट देशले धेरै आशा राखेको बताए। विश्व क्रिकेटले पनि नेपाललाई नियालिरहेको उनले उल्लेख गरे।

नेपाली क्रिकेट खेलाडी सबैका आदर्श पात्र रहेकाले विश्वकपका खेलले मात्र नभई त्यहाँ गर्ने सबै गतिविधिले प्रभाव पार्ने हुँदा अनुशासित हुन पारसले सुझाव दिए।

उनले विश्वकपपछि पनि एउटा टेस्ट राष्ट्रसँग खेल्नका निम्ति प्रक्रिया अघि बढाइएको बताए। वेस्ट इन्डिजसँगको जितपछि नेपाली टोलीमा उत्साह बढेकाले पनि टेस्ट राष्ट्रसँग शृंखला आयोजना गर्न लागिएको उनको भनाइ छ।

उनले नतिजा आफूअनुकूल नभए पनि यो विश्वकप एउटा ठूलो अवसर रहेको बताए।

पारसकै कप्तानीमा नेपालले पहिलोपल्ट सन् २०१४ मा बंगलादेशमा टी–२० विश्वकप खेलेको थियो। दोस्रोपल्ट विश्वकप खेल्न १० वर्ष लगाएको नेपालले तेस्रो भने लगातार खेल्दै छ। यो विश्वकपमा नेपाल समूह ‘सी’मा छ। यो समूहमा इंग्ल्यान्ड, इटाली, वेस्ट इन्डिज र बंगलादेश छन्।