नेपाली कांग्रेसमा देउवा पक्ष (नियमित महाधिवेशन) का नेताहरू शुक्रबार निर्वाचन आयोग पुगेका छन्।
शेरबहादुर देउवा नेतृत्वको समूहका नेताले पार्टीको आधिकारिकता आफूहरूकै पक्षमा रहेको दाबी गर्दै आवश्यक कागजात बुझाएका हुन्।
निर्वाचन आयोगमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित, उपसभापति धनराज गुरुङ, नेताहरू डा. शशांक कोइराला, मीन विश्वकर्मा, नैनसिंह महरलगायत नेताहरूको उपस्थिति छ।
यसअघि बिहीबार गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधर समूहले पनि निर्वाचन आयोगमा नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो।
सभापति थापासहितका नवनिर्वाचित पदाधिकारीले विशेष महाधिवेशन विधानसम्मत रहेको र बहुमत प्रतिनिधिको सहभागितामा सम्पन्न भएको जिकिर गर्दै आधिकारिकता दाबी गरेका थिए।
विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएपछि देउवा पक्षले थापासहितका नेताहरूलाई कारबाही गरेको थियो।
दुवै पक्षले निर्वाचन आयोगमा आफूलाई आधिकारिक दाबी गर्दै पत्र र कागजात बुझाएका छन्। निर्वाचन आयोगले दुवै पक्षको दाबी अध्ययन गरिरहेको जनाएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा यो विवादले कांग्रेसको चुनावी तयारीमा असर पर्न सक्ने विश्लेषकहरूले बताएका छन्।
आयोगको निर्णय कुर्नुपर्ने अवस्था आएमा यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्न सक्ने सम्भावना छ। कांग्रेसको यो विवादले पार्टीको चुनाव चिह्न रुख र झन्डा कुन पक्षले पाउने भन्ने प्रश्न पनि उठेको छ। दुवै पक्षले बहुमत आफूहरूसँग रहेको दाबी गरिरहेका छन्।




















