अविरल वर्षाका कारण कोशी लोकमार्गअन्तर्गतको सडक भासिएको छ। लोकमार्गअन्तर्गत धरान-धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका-६ चारखोले गोलाईस्थित सडक आज बिहान ११ बजेतिर करिब १० मिटर सडक भासिएको हो।
सडक भासिएपछि यातायात एकतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ। सडक भासिए पनि साना सवारी साधनहरू भने एक छेउबाट आवतजावत गरिरहेका छन्।
घटनापश्चात् इलाका प्रहरी कार्यालय भेडेटार, धनकुटाबाट प्रहरी निरीक्षक महेश भट्टराईको कमाण्डमा ७ जनाको प्रहरी टोली खटिएको छ। टोलीले बाटो खुलाउने प्रयास गरिरहेको धनकुटा प्रहरीले जनाएको छ।
 
         
         
                     
         
         
         
                                        
                                                                                                


 
         
         
         
        

















 
         
         
        