चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा यात्रु बाहक बससहित तीन सवारी साधन ठोक्किँदा ३३ जना घाइते भएका छन्।
भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा इट्टा लोड गरेर पार्कीङ्ग गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०३०० ख ०१२३ नम्बरको  डल्फिन यात्रुबाहक बस ठोक्किएको र सोही बसमा जनकपुरबाट काठमाडौँतर्फ आउँदै गरेको  बा.प्र.०३०० ख ३९०२ नम्बरको  रुद्राक्ष यात्रुबाहक बस शुक्रवार बिहान करिब पौने २ बजे ठोक्किएको प्रहरीले जानकारी दिएको छ।
बस सडकमा पल्टिएको र दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण आपटारी चितवनबाट गएको सुरक्षा फौजले घाइतेहरूको तत्काल उद्धार गरेको प्रहरी हो।
घाइतेहरू अहिले चितवन मेडिकल कलेजमा १५ जना, नेशनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको भर्ना गराइ उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सडकबाट बसलाई हटाएर सडक एकतर्फी खुलाइएको छ।
प्रहरीका अनुसार एक जना बसका चालकलाई नियन्त्रणमा लिएको र यस विषयमा थप अनुसन्धान भइरहेको छ।
दुर्घटनामा दुई बसका चालकसहित ३३ जना घाइते भरतपुरको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको र सबैको अवस्था मध्यम रहेको बुझिएको छ।
                             
         
         
                     
         
         
         
                                        
                                                                                                


 
         
         
         
        

















 
         
         
        