धनकुटा नगरपालिका–९ तिनघुम्तीस्थित कोशी लोकमार्गमा शुक्रबार बिहान एक यात्रुबाहक बस दुर्घटनामा परेको छ।
दमकबाट दिक्तेलतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९५१९ नम्बरको बस बिहान करिब ८ः४५ बजे हावाको पाइप अचानक पड्किएपछि अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
दुर्घटनामा बसमा सवार २७ यात्रुमध्ये मोरङको लेटाङ नगरपालिका–३ निवासी ५५ वर्षीया मिना गुरुङ घाइते भएकी छन्। उनको ढाडमा सामान्य चोट लागेको र उपचारका लागि धनकुटा जिल्ला अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।
अन्य यात्रु सबै सकुशल रहेको र बस सडकको छेउमा पल्टिए पनि बाटो अबरुद्ध नभएको प्रहरीले जनाएको छ।
 
         
         
                     
         
         
         
                                        
                                                                                                


 
         
         
         
        

















 
         
         
        