मोरङको लेटाङबाट १३ दिनदेखि हराइरहेकी १३ वर्षीया बालिकाको शव भेटिएको छ। शव शुक्रबार चिसाङ साझेदारी वनमा क्षतविक्षत अवस्थामा फेला परेको हो।
लेटाङ नगरपालिका–२ की अंशु गौतमको शव स्थानीयले घाँस काट्न जाँदा वनभित्र भेटेपछि प्रहरीलाई खबर गरेका थिए। गौतम असोज २१ गतेदेखि हराएकी थिइन्।
घटनाको प्रकृति अत्यन्त क्रूर र अमानवीय देखिएको वडा अध्यक्ष तेजप्रसाद तिमसिनाले जानकारी दिए। तिमसिनाका अनुसार घटनास्थलमा शव क्षतविक्षत अवस्थामा फेला परेको छ।
चप्पल एकातर्फ, हाफप्यान्ट र भित्री वस्त्रहरू अर्कोतर्फ, घडी एकातर्फ, कम्मरभन्दामुनिको भाग एकातिर र कम्मरभन्दा माथिको करङ, ढाड तथा माथिको वस्त्र अर्कोतिर भेटिएको छ। त्यस्तै, टाउकाको अस्थिपञ्जर र कपाल पनि छुट्टै स्थानमा फेला परेको प्रहरीले जनाएको छ।
घटनास्थलमा मोरङ प्रहरी प्रमुख, एसपी कवित कटुवालसहितको टोली पुगेर अनुसन्धान सुरू गरेको छ। यो घटनाले गाउँ नै शोकमा डुबेका छ। अंशुका एक दिदी र एक जना भाइ छन्।
प्रहरीले यस घटनाको सूक्ष्म ढंगले अनुसन्धान अगाडि बढाएको जनाएको छ। ‘घटना शङ्कास्पद छ। हामीले सूक्ष्म रूपमा अनुसन्धान र विश्लेषण गरिरहेका छौं’, मोरङ प्रहरीकी सूचना अधिकारी, डीएसपी कोपिला चुडालले भनिन्।
हत्या हो कि आत्महत्या भन्ने अहिले नै केही नखुलेको डीएसपी चुडालले बताइन्। ‘जंगली जनावरले उनको शव क्षतविक्षत बनाएको हुन सक्ने अनुमान गरेका छौं। शव पोस्टमार्टमपछि सबै कुरा खुल्छ। अहिले हाम्रो विशेष टोलीले अनुसन्धान गरिरहेको छ’, उनले भनिन्।
अंशुको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। अनुसन्धान कार्यमा मोरङ प्रहरी प्रमुख, लेटाङ प्रहरी प्रमुख, बेलबारी प्रहरी प्रमुखलगायतको टोली खटिएको छ।




















