बेलबारीका स्रष्टा तथा राजनीतिकर्मी ईरान राईको नयाँ कृति ‘चुडेल्नी’ कथासङ्ग्रहको लोकार्पण सम्पन्न भएको छ। बेलबारी साहित्य विकास समितिको आयोजनामा बेलबारी–१ स्थित सगरमाथा इङ्ग्लिस स्कुलको सभाहलमा बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षतामा संचालन भएको थियो। पूर्व सांसद एवम् अग्रज स्रष्टा कुन्ता शर्माको प्रमुख आथित्यता रहेको थियो। सम्पन्न उक्त कार्यक्रममा स्थानीय साहित्यकार, शिक्षाविद् र साहित्यप्रेमीहरूको सहभागितामा सम्पन्न भएको हो।
कार्यक्रमकी प्रमुख अतिथि तथा अग्रज स्रष्टा कुन्ता शर्माले कृतिको लोकार्पण गर्दै लेखक राईको लेखनलाई समाजका यथार्थ र मानवीय संवेदनासँग गहिरो रूपमा गाँसिएको बताउँदै ‘चुडेल्नी’ कथासङ्ग्रहले आधुनिक नेपाली कथासाहित्यमा नयाँ दिशा दिने विश्वास व्यक्त गरिन्।
साहित्यिक जमघटमा अच्छा रसिक राई साहित्य प्रतिष्ठानका अध्यक्ष केशव सुनाम, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, बेलबारी प्रज्ञा–प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदी, र सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवाल सहित देशभरका स्रष्टा, कलाकार र साहित्यप्रेमीहरूको सहभागिता रहेको थियो।
लोकार्पित कृति ‘चुडेल्नी’ माथि दिनेशराज सुवेदी, विन्दु दाहाल ‘मूकदर्शक’, र शरण राईले टिप्पणी गर्दै भने,“‘चुडेल्नी’ले ग्रामीण परिवेशका कथाहरूलाई आधुनिक दृष्टिकोणबाट प्रस्तुत गरेको छ। यसले नेपाली समाजका अन्तर्विरोध र मानवीय संवेदनालाई सशक्त रूपमा चित्रण गरेको छ।”
कार्यक्रममा समितिकी उपाध्यक्ष लक्ष्मी रेग्मीले स्वागत गरिन् भने सम्पूर्ण कार्यक्रमको संयोजन उमा सिजापती र शिव पराजुलीले आकर्षक ढङ्गले सञ्चालन गरेका थिए।

