तलबवृद्धिको माग गर्दै विराट टिचिङ अस्पतालका नर्सिङ स्टाफ आन्दोलित भएका छन्। उनीहरूले काम छाडेपछि अस्पतालले नयाँ बिरामी भर्ना लिन रोक लगाएको छ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डेनिस कार्कीका अनुसार हाल अस्पतालमा करिब ४५० बिरामी उपचाररत छन्। नर्सहरूको अभावमा ती बिरामीहरूको सेवाका लागि वैकल्पिक व्यवस्था गर्नुपर्ने अवस्था आएको कार्कीले बताए।

“नियमित रूपमा कार्यरत नर्सहरूले काम नगरेका कारण अहिले मेडिकल कलेजका विद्यार्थी नर्सहरूबाट काम चलाइरहेका छौँ,” उनले भने।

अस्पतालले हाल जटिल तथा बालरोग विभागका बिरामीहरूलाई अन्य अस्पतालमा रेफर गर्ने तयारी गरिरहेको कार्कीले जानकारी दिए। उनले यस विषयमा जिल्ला प्रशासन कार्यालय, मोरङलाई पनि जानकारी गराइसकेको बताए।

उनका अनुसार नर्सहरूले उठाएका मागहरू अस्पताल प्रशासनको अधिकारक्षेत्रभन्दा बाहिर भएकाले सरकारले नीतिगत रूपमा समाधान गर्नुपर्नेछ।

इमर्जेन्सी कक्षमा समेत नयाँ बिरामी भर्ना हालका लागि बन्द गरिएको अस्पतालले जनाएको छ।