जेन—जी अभियन्ता मिराज ढुङ्गानाले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। शनिवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी ढुङ्गानाले राजनीतिक दल खोल्न लागेको घोषणा गरेका हुन्।
उनले निर्वाचनमा भाग लिनको लागि मात्रै भने दल खोल्न लागिएको नभई जेनजीको आधिकारिक पार्टी हुन खोल्न लागिएको दाबी गरे। आफूहरूको बटमलाईन सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग नलिने उनले बताए। उनले भने, 'बटम लाइन पूरा नभई हामी चुनावमा जाने तयारी छैनौँ। प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो प्रमुख मुद्दा हो र यसबिना कतै जाने छैनौँ। पार्टी खोल्नुको अर्थ चुनाव लड्नु होइन, सङ्गठित भएर अघि बढ्नका लागि हो।'
उनले थपे, 'आधिकारिक हुनका लागि भीड मात्र पर्याप्त होइन। देश विकासका लागि एनजिओ वा राजनीतिक दल खोल्नुपर्छ, हुलमुलले केही हुँदैन।'
उनले आगामी कार्यसूचीमा भ्रष्टचारमा संलग्नलाई कारबाही गर्ने, आर्थिक रूपान्तरण अघि बढाउने र अन्य एजेन्डा समावेश रहेको जानकारी दिए। ढुङ्गानाले स्पष्ट पारे, 'यो सरकार जेन–जीले बनाएको हो, तर सरकार बनाउने प्रक्रियामा म व्यक्तिगत रूपमा पर्दिनँ।'
नयाँ दलको नाम भने सबैसँगको छलफलपछि टुङ्ग्याइने ढुङ्गानाले जानकारी दिए।