जनकपुरधाममा प्रहरी र स्थानीय सुनचाँदी व्यवसायीहरुबीच झडप भएको छ। झडपमा ११ जना घाइते भएका छन्। 

घाइते हुनेमा दशजना प्रहरी र एक व्यवसायी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

जनपुरधामको सोनारपट्टीमा रहेको सञ्जय ठाकुरको ज्वलर्समा गएराति प्रहरीले छापा मार्नेक्रममा झडप भएको हो। “भारतबाट अवैधरूपमा चाँदी ल्याएको सूचनाका आधारमा हामी छापा मार्न गएका थियौँ,” जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेशबहादुर बमले भने, “प्रहरीलाई व्यापारीले अवरोध गरेपछि झडपको अवस्था आएको हो।” 

बिल नभएको करिब सात किलो चाँदी बरामद गरिएको उनले जानकारी दिए। झडपका क्रममा ६र७ राउन्ड हवाई फायर र ३र४ सेल अश्रुग्यास प्रहार गरिएको डीएसपी बमले बताए। 

“दुईजना प्रहरीको टाउकोमा चोट लागेको छ, अवस्था मध्यम रहेको छ,” डीएसपी बमले भने। उनले राजश्व अनुसन्धान विभागसँग समन्वय गरेर छापा मारेको प्रष्ट पारेका छन्।