झापाको दमकस्थित इलाका प्रहरी कार्यालयबाट गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा हतियार लुट्ने युवक ब्राउन सुगरसहित पक्राउ परेका छन्।
प्रहरीको एसएलआर राइफल लुटेर भागेका दमक नगरपालिका–३ का १८ वर्षीय आदित्य लिम्बू लागूऔषध मुद्दामा पक्राउ परेका हुन्।
उनले जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट एसएलआर राइफल लुटेर लाने क्रममा खिचिएको फोटो भाइरल भएको थियो।
इलाका प्रहरी कार्यालय दमकको टोलीले दमक-३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगी सेक्टर ए थ्री हट नम्बर ३५३ का साजन थापाको छाप्रोबाट थापासहित इलामको चुलाचुली-३ का ३२ वर्षीय दिपेश तामाङ, सोही स्थानका ३२ वर्षीय सनम राई पक्राउ परेका छन्।
त्यस्तै, झापाको दमक-३ का १८ वर्षीय आदित्य लिम्बू, सोही स्थानका १९ वर्षीय पविन विश्वकर्मा, २५ वर्षीय सूचन दर्जी पनि पक्राउ परेका छन्।
त्यसैगरी, बेलडाँगी भुटानी शरणार्थी शिविरका २५ वर्षीय विजय माझी र मोरङको मिक्लाजुङ-८ का २० वर्षीय निश्चल पोर्तेललाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पक्राउ परेका पोर्तेल मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीमा लागूऔषध मुद्दामा अनुसन्धानमा रहेका उनी जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते हिरासतबाट फरार भएका थिए।
आदित्य इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको एसएलआर हतियार लुटपाटमा संलग्न रहेको प्रहरीले जनाएको छ। हतियार लुटेर भागेका लिम्बूले हतियार प्रदर्शन गरिरहेको फोटो पनि प्रहरीले सार्वजनिक गरेको छ।