पाकिस्तानका युवा ब्याट्सम्यान हैदर अली बलात्कारको आरोपमा इङ्ग्ल्याण्डमा पक्राउ परेका छन्।

उनी अगस्ट ३ मै समातिए पनि घटना अहिले बाहिरिएको हो। टेलिकम एसिया स्पोर्ट्सको रिपोर्ट अनुसार २४ वर्षीय ब्याट्सम्यान हैदर पाकिस्तान ए टिम (पाकिस्तान शाहिन) का सदस्य हुन्।

गत ३ अगस्टमा उनले क्यान्टरबरी मैदानमा मेलबर्न क्रिकेट क्लब टिमविरुद्ध खेल खेल्दै थिए।

ग्रेटर म्यानचेस्टर प्रहरीले उनलाई मैदानबाटै पक्राउ गरेको हो। उनी जमानतमा रिहा भए पनि देश छोड्न नपाउने गरी उनको राहदानी जफत गरिएको छ।

यो घटना सार्वजनिक भएपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले हैदर अलीलाई निलम्बन गरेको छ। रिपोर्ट अनुसार हैदरमाथि बलात्कारको आरोप लगाउने युवती पाकिस्तानी मूलकी हुन्।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का एक प्रवक्ताले भने, ‘हामीलाई गिरफ्तारीबारे जानकारी दिइएको थियो। अनुसन्धान पूरा नभएसम्म निलम्बन गरिएको छ। हामी बेलायतमा आफैँ अनुसन्धान गर्ने छौँ। बोर्डले यस कठिन समयमा हैदरलाई कानुनी सहयोग गर्ने छ।’