पाँचथरमा सेफ्टी ट्यांकीमा काम गर्ने क्रममा एक जना मजदुरको मृत्यु भएको छ भने २ जना बेहोस भएका छन्।

बुधबार साँझ फाल्गुनन्द गाउँपालिका–५ घुर्बिसेमा निर्माणाधीन सेफ्टी ट्यांकीमा काम गर्ने क्रममा तीन मजदुर बेहोस भएका थिए। बेहोस मध्ये एक मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी कौशलकुमार बुढाथोकी बताए।

उनका अनुसार मृत्यु हुनेमा फाल्गुनन्द गाउँपालिका–५ का ३८ वर्षीय रत्न चेम्जोङ छन्। बाँकी दुई जना सोही ठाउँका २४ वर्षीय भिष्म चेम्जोङ र ४० वर्षीय बिरु चेम्जोङको उपचार जारी छ।

घुर्बिसे पञ्चमी सहकारी संस्थाले बनाउँदै गरेको सेफ्टी ट्यांकीभित्र सुरुमा एक जना मजदुर छिरको र उनी बेहासे भएपछि निकाल्न अरू दुई जनाभित्र पसेकामा उनीहरू पनि बेहोस भएका थिए।

यो जानकारी पाउनासाथ प्रहरी चैकी फाक्तेपबाट असई शेरबहादुर राईको कमान्डमा ६ जनाको टोली घटनास्थलमा खटिएको थियो। जेसीबीको सहयोगले उनीहरूले बाहिर निकालिई उपचारका लागि इलाम अस्पताल लगिएकोमा रत्नको मृत्यु भएको बताइएको छ।