रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ।
स्थानीय ३२ वर्षीय रजिन सुनुवारले पारिवारिक नाता पर्ने २७ वर्षीया एलिसा सुनुवारलाई बुधवार साँझ खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन्।
घटनापछि गम्भीर अवस्थामा रहेकी एलिसालाई आज बिहान हेलिकप्टरमार्फत काठमाडौँ लगिएको र अहिले काठमाडौँ मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर कौशल न्यौपानेले जानकारी दिए।
खुकुरी प्रहारपछि फरार रहेका रजिन सुनुवारलाई प्रहरीले नियन्त्रणमा लिई बिहीबार जिल्ला प्रहरी कार्यालय मन्थलीमा ल्याएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।