सरकारले ३० वटा व्यवसायीक कम्पनीलाई महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान प्रदान गरेको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासङ्घको सहकार्यमा बुधवार काठमाडौँमा आयोजित कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सिआइपी सम्मान प्रदान गरेका हुन्।
सीआईपी प्राप्त गर्नेहरूमा २१ व्यावसायिक फर्म तथा कम्पनी रहेका छन् भने निजी क्षेत्रका प्रतिनिधिमूलक नौ संस्थाले मानार्थ सीआईपी प्राप्त गरेका हुन्। व्यवसायीका प्रतिनिधिमूलक संस्थाहरूको तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेश कुमार अग्रवाललाई मानार्थ सीआईपी सम्मान प्रदान गरिएको छ।
यी संस्थाहरूलाई निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रवर्द्धनात्मक कार्य गरी आर्थिक विकासमा उल्लेख्य योगदान पुर्याएको भनेर सम्मान गरिएको हो। यस्तै, व्यवसायीका प्रतिनिधिमूलक महासङ्घतर्फ नेपाल हस्तकला महासङ्घ र निर्यात व्यवसायी महासङ्घका अध्यक्षलाई मानार्थ सीआईपी प्रदान गरिएको छ।
यसबाहेक व्यवसायीका प्रतिनिधिमूलक वस्तुगत सङ्घतर्फ नेपाल छुर्पी व्यवसायी सङ्घ, झापा, नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घ, नेपाल तयारी पोशाक उद्योग सङ्घ र नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात सङ्घले मानार्थ सीआईपी सम्मान पाएका छन् । उनीहरूलाई तेस्रो मुलुकतर्फ आर्थिक वर्ष २०७९–८० र २०८०/८१ मा कुल ५ अर्ब वा सोभन्दा बढी निर्यात गरेको आधारमा यो सम्मान प्रदान गरिएको हो ।
यसैगरी तेस्रो मुलुकतर्फ सबैभन्दा बढी वस्तु निकासी गर्ने अग्रस्थानका पाँच वस्तुहरू मध्ये प्रत्येकबाट एक–एक जना व्यवसायीलार्य सीआईपी सम्मान पदान गरिएको छ । जस अन्तर्गत ऊनी गलैँचातर्फ थर्ड आई इन्टरनेशनल, तयारी पोशाकतर्फ नेपाल फेशन प्रा. ली, ऊनी फेल्टका सामानतर्फ नेशनल एक्सपोटर्स प्रा।ली, छुर्पीतर्फ मनराम हिमालयन हेण्डिक्राफ्ट प्रा।ली र पश्मिना वस्तुतर्फ ट्राइकोट इण्डष्ट्रिजले सीआईपी सम्मान प्राप्त गरेका छन् ।
यस्तै भारततर्फ निकासी रकमको आधारमा सम्मान पाउनेमा डाबर नेपाल प्रा।ली। , आरती स्ट्रीप्स र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई र चीनतर्फको निकासी रकमका आधारमा छोमेन ट्रेडर्स, फिन्जो सोनाम इन्टरप्राइजेज र अष्ठमंगल काठमाडौँले सिआइपी सम्मान प्राप्त गरेका छन् । यसैगरी नेपालको मौलिक सीप, कला र संस्कृति झल्किने हस्तकलाका वस्तुको निर्यातबाट सबैभन्दा धेरै रकम भित्र्याउने निर्यातकर्तामा गिफ्ट ल्याण्ड इन्टरप्राइजेज प्रा।ली।ले पनि सीआईपी सम्मान पाएको छ ।
यस्तै प्राथमिकतामा राखेका निर्यात सम्भावनायुक्त वस्तुमध्ये कृषिजन्य वस्तु सबैभन्दा बढी रकमको निर्यात गर्ने निर्यातकर्तामध्ये नेपाल एभरेष्ट कार्डमम प्रोडक्सन झापा र जडीबुटी क्षेत्रबाट एबी हर्बल ट्रेडर्स एण्ड सप्लायर्स दार्चुलाले यो सम्मान प्राप्त गरेका छन् । निर्यात व्यापारमा कुल रकमको आधारमा सबैभन्दा बढी रकमको निर्यात गर्ने महिला निर्यातकर्तामा जनकपुर रिफाइनरिज काठमाडौँ र तेस्रो मुलुकतर्फ गत दुई आर्थिक वर्षमा एक अर्ब वा सोभन्दा बढी निकासी गर्ने उद्योग, संस्था, फर्म वा कम्पनीहरूमध्ये द सांग्रिला कार्पेट एण्ड ह्याण्डिक्राफ्ट, एभरेष्ट फेसन र त्रिवेणी स्पिनिङ मिल्स लिमिटेड र स्टार्टअपतर्फ माइण्डफुल क्राफ्ट प्रालि काठमाडौँले सीआईपी सम्मान प्राप्त गरेका छन् ।
यसैगरी बैंकिङ प्रणालीमार्फत विप्रेषणको कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याउने कम्पनीमा आइएमई लिमिटेड र पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल उद्योगी तथा व्यवसायीमा एभरेष्ट हस्पिटालिटी होटल लिमिटेडले सीआईपी सम्मान प्राप्त गरेका छन् ।
सो अवसरमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले देशको समृद्धिको लागि निजी क्षेत्रसँगको सहकार्यलाई थप बलियो बनाइने बताए । उनले सिआइपी सम्म्मानले उद्योगी व्यवसायीहरूको मनोबल उच्च राख्दै निर्यात प्रवर्द्धनमा थप प्रभावकारी भूमिका खेल्ने बताए ।
“यो सम्मानका लागि सम्मान होइन । हामी थप उदार भएर निजी क्षेत्रलाई सम्मान गर्न चाहन्छौँ । निजी क्षेत्रको मनोबल उच्च नभएसम्म आर्थिक विकास र समृद्धि सम्भव छैन । त्यसैले हामीले देशको समृद्धिको लागि सहकार्य गरेर अगाडि बढ्न चाहन्छौँ ।” उनले भने । नेपाल सन् २०२६ मा एलडीसी ग्रयाजुयसनमा जाने हुनाले सरकार र निजी क्षेत्र मिलेर आउने दिनको रणनीति बनाउनु पर्ने उनले बताए ।
सो अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको निर्यात वार्षिक करिब १० खर्ब पुर्याउन सकिने बताए । उनले नेपालको निर्यात सम्भावना हेर्दा वार्षिक करिब १० खर्ब पुर्याउन र कुल गार्हस्थ्य उत्पादनको शून्य दशमलव २ प्रतिशत मात्रै रहेको विदेशी लगानी केही वर्षमै १० प्रतिशत पुर्याउन सकिने धारणा राखे ।
अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासङ्घ र निजी क्षेत्रले सिथिल अर्थतन्त्रको विस्तार र नेपालमा लगानी प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम र नीतिगत पैरवी गरिरहेको र यसमा सरकारको भरपुर सहयोग रहेको भन्दै निजी क्षेत्रको विकास र विस्तारमा सरकारले निर्वाह गरिरहेको भूमिका प्रति आभार व्यक्त गरे ।
“हामीले लगानी सम्बद्ध कानुनहरूमा समस्या रहेको विषय उठायौ । सरकारले कानुनमा संशोधन गर्यो । द्विपक्षीय लगानी प्रवर्द्धनका लागि सम्झौता आवश्यक भनौँ । त्यसको सरकारले खाका तयार पारेको छ । उनले भने, नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेकोले सुधार आयोगको प्रस्ताव गर्यौ । आयोग बनेर सुझाव सरकारसमक्ष पेश गर्यौ । त्यसलाई सरकारले आत्मसात् गरेको मात्र नभई बजेट र मौद्रिक नीतिमा केही सुझाव समावेश पनि भएको छ । यी सबै कामका लागि म सरकारलाई आभार व्यक्त गर्दछु ।”