मानिस मरेर गएपनि उनका कामहरू सधैँ अमर रहोस् भन्ने उखानका एक उदाहरणीय व्यक्ति बनेका छन् गोर्खा चुननुब्री गाउँपालिकाका खेम रिन्पोछे टाँसी छिरिङ्ग। हिमाली भेगमा जन्मिएका उनले आफ्नो गाउँ ठाउँमा पढ्नकै लागि गरेको दुःख र सङ्घर्षहरू आफ्नै आँखाले देखे र भोगे।

शिक्षाका लागि आम नेपालीहरूले भोगिरहेको समस्यालाई मध्यनजर गर्दै टाँसी छिरिङ्गले २०१३ मा ‘ङग्युर मेमोरियल स्कुल’ नामक विद्यालय स्थापन गरेका थिए। सानै उमेरदेखि पढाइमा औधी रुचि राख्ने उनी समाजसेवामा पनि उत्तिकै सक्रिय थिए। तर उनको यस्तो लोभलाग्दो सक्रियता लामो समय रहन सकेन। ०७८ तिर विश्वभर फैलिएको कोरोनाका कारण उनले सँधैका लागि आँखा चिम्ले।

उनले संसार छाडे पनि उनकै परिकल्पना र मेहनतका साथ स्थापना भएको ङग्युर मेमोरियल स्कुलले अहिले पनि उत्तिकै तारिफ कमाइरहेको छ। 

हिमाली भेगका कोही पनि बालबच्चा पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले साथ उनले ङग्युर जस्तै अरुपनि विद्यालय सञ्चालन गरिरहेका छन्। त्यसमध्ये उदाहरणीय बनेको काठमाडौँको चन्द्रागिरि नगरपालिकाको ङग्युर मेमोरियल स्कुलले आर्थिक अवस्था कमजोर भएका, गरिब वा विपन्न साथै अभिभावक नभएकाहरू सात सय बढी विद्यार्थीहरूलाई आवाससहितको शिक्षादीक्षा प्रदान गरिरहेको छ। 

विभिन्न मनकारी व्यक्ति र संस्थाहरूको सहयोगमा विद्यालयले विद्यार्थीहरूलाई खाने बस्ने व्यवस्थासहित लत्ताकपडाको समेत व्यवस्था गरिरहेको विद्यालयका महासचिव अथवा लुम्बिनी विकास कोषका उपाध्यक्ष खेन्पो छिमे छिरिङ डा. ल्यारकयाल लामाले जानकारी दिए। 

गरिबी र विपन्नताका कारण शिक्षाको उज्यालोबाट वञ्चित भएका विद्यार्थीहरूलाई नर्सरीदेखि कक्षा १२ सम्म कक्षा सञ्चालन गर्नेगरि विद्यालयको स्थापना गरिएको पनि उनले बताए। 

‘पछिल्ला वर्षमा यस विद्यालयमा वार्षिक ६० देखि ७० जना भन्दा बढी विद्यार्थीको भर्ना हुने गर्छ। यहाँ अध्ययन गरिरहेका सात सय भन्दा बढी विद्यार्थीमध्ये धेरैजसो बुबाआमा नभएका विद्यार्थी छन्। लगभग ४० जिल्लाका विद्यार्थीले पढ्न पाइरहेका छन्,’ उनले भने।

गरिब वा विपन्न परिवारका व्यक्तिहरूले राम्रो शिक्षा दिन नसक्ने साथै नजिकै सरकारी विद्यालय नभएकाहरूलाई विशेष प्राथमिकता दिने गरेको पनि उनले सुनाए।

‘हुन त हामीले हिमाली मात्र नभई मधेसी, जनजाति तथा पहाडी भेगका गरिब विपन्न वर्गका पनि विद्यार्थीहरूलाई ल्याएर पनि पढाइरहेका छौँ। जे होस गरिबी र अभावले कोही पनि विद्यालय जानबाट वञ्चित नहोस् भनेर यस्तो प्रयास गरेका हौँ,’ महासचिव लामाले भने। 

मनकारी केही विदेश र स्वदेशका मानिसले दिएका चन्दाबाट विद्यालय चलाइरहेको भएपनि सरकारले कुनै सहयोग नगरेको महासचिव लामाले बताए।

‘हाम्रो मूल उद्देश्य भनेको नै गरिब वा विपन्न परिवारका व्यक्तिहरूलाई राम्रो शिक्षा दिन नसक्ने, सरकारी स्कुल नभएका गाउँका बच्चाहरूलाई अलि बढी प्राथमिकता दिने गरेका छौँ। हिमाली भेगकालाई मनिसलाई अलि बढी प्राथमिकता त दिई नै रहेका छौँ। तर मधेसी, जनजाति तथा पहाडी भेगका गरिब वा विपन्न वर्गका विद्यार्थीहरूलाई ल्याएर पढाई रहेका छौँ। गरिब एवम् विपन्न वर्गका कुनै पनि मानिसहरू शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले नै विद्यालय सञ्चालनमा ल्याइएको हो,’ लामाले भने।

‘देश भित्रबाट वा बाहिरबाट शिक्षामा चासो देखाउनेहरूले माया गरेर जम्मा भएको चन्दाले विद्यार्थीहरूका लागि खाने बस्ने, किताबदेखि लगाउने कपडासम्म सुविधा दिने गरेका छौँ। मुख्य आयस्रोत भनेकै चन्दा हो। विदेशमा गएर मैले पनि प्रवचन दिने गरेको छु, मैंले लेखेका किताबबाट पनि रकम सङ्कलन हुन्छ। तर सरकारलाई धेरै पटक निवेदन दिँदा पनि बेवास्ता गर्‍यो,’ लामाले दुखेसो गरे।

निःशुल्क शिक्षा दिने उद्देश्यले खोलिएको संस्थाप्रति राज्यको दृष्टिकोण सकारात्मक नरहेको उनले बताए। 

‘यो पैसा कमाउने संस्था होइन। फ्रि एजुकेशन दिने एउटा विद्यालय हो। धेरै गुरुहरूलाई फ्रिमै किताब दिनुहोला भनेर निवेदन दिएका थियौँ तर सहयोग मिलेन। नजिकका पालिकाहरूसँग समन्वय गर्न खोजेका थियौँ कतैबाट पनि सहयोग भएन। स्थानीय तहसँग केही अपेक्षा गरेको छैन तर केन्द्र र प्रदेशबाट धेरै पहल गर्दा उपलब्धि भएको छैन,’ उनले भने। 

खेम रिन्पोछे टाँसी छिरिङ्ग नभए पनि उनले सकारात्मक भावनाकासाथ स्थापना गरेको विद्यालयको सेवालाई थप प्रभावकारी बनाउनेमा आफूहरू कटिबद्ध रहेको सुनाए।

सोही विद्यालयमा अध्ययनरत कर्म मन्तेल लामा अहिले कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन्। उनी १० वर्षदेखि विद्यालयमा अध्ययन गर्दै आएका छन्। ‘यो विद्यालयले मलाई जीवन दिएको छ। विद्यालय हाम्रो लागि मन्दिर हो। यहाँ पढाउने सबै शिक्षकहरू भगवान् हुनजस्तो लाग्छ ,’ उनले भने।