मुगु जिल्लाको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका—५ तारापानी भन्ने स्थानमा सडकको नाला निर्माणमा काम गर्ने एक महिलाको पहिरोले ज्यान गएको छ।

खात्याड गाउँपालिका—५ तारापानीको सडकको नाला निर्माणका लागि गिट्टी कुट्दै गरेकी सोही वडा कोटिला गाउँकी ३७ बर्षिया जानु बुढाको १० मिटर माथिबाट खसेको पहिरोले शुक्रवार बिहान अन्दाजी १०ः५० बजे ज्यान गएको खत्याड गाउँपालिका बिपद व्यवस्थापन शाखा प्रमुख कुल बहादुर शाहीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार घटना घटेको जानकारी पाउन साथ  इलाका प्रहरी कार्यालय तारापानी र माथीचौर प्रहरी चौकीबाट प्रहरी घटना स्थल गएका छन्।

खत्याड गाउँपालिकाको आर्थिक र भीष्मराज कन्स्ट्रक्सन प्रालिले निर्माण जिम्मा पाएको १२ नम्बर ठेक्कामा पहिरोमा परी ज्यान गएकी बुढा केही दिन यताबाट नाला बनाउनका लागी चाहिने  गिट्टी कुट्ने काम गर्दै आएकी थिइन।

गिट्टी कुटीरहेकै बेला बिहान १०ः५० बजे १० मिटर माथिबाट खसेको पहिरोले बुढाको ज्यान गएका भीष्मराज कन्स्ट्रक्सनका प्रोप्राइटर लोकराज दाहालले जानकारी दिए।