साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक एकै दिनमा २६.५३ अङ्कले बढेर २६ सय २२.२८ अङ्कमा पुगेर रोकिएको छ।
अघिल्लो कारोबार दिन बिहीबार ४.४५ अङ्कले घटेर २६ सय बिन्दुभन्दा तल झरेको नेप्से आइतबार १.०२ प्रतिशतले वृद्धि हुँदै २६ सयभन्दा माथिल्लो विन्दुमा पुगेर रोकिएको हो।
यस दिन सेन्सेटिभ इण्डेक्स ४.७० प्रतिशतले बढेको छ। अघिल्लो कारोबार दिन यो इन्डेक्स १.२१ अङ्कले घटेको थियो। यस दिन फ्लोट इण्डेक्स २.०५ अङ्कले बढेको छ, यस अघि यो इन्डेक्स ०.३८ अङ्कले घटेको थियो। त्यसैगरी आज सेन्सेटिभ फ्लोट इण्डेक्स १.७५ अङ्कले बढेको छ।
अघिल्लो कारोबार दिनभन्दा यस दिन भने कारोबार रकम केही घटेको छ। आज कुल ३२८ स्टकको ७ अर्ब १२ करोड १७ लाख ३६ हजार ११४ रुपैयाँको १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता शेयर खरिद बिक्री भएको छ। यस अघि बिहीबार कुल ७ अर्ब ७८ करोड २ लाख ४२ हजार २४३ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
यस दिन सप्तकोशी विकास बैङ्क लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। यस कम्पनीको शेयर मूल्य आज ९९.५२ रुपैयाँले बढेर १ हजार ९५.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ। विन्ध्यवासिनी हाइड्रो पावर विकास कम्पनी लिमिटेडको शेयर मूल्य आज ८.९७ प्रतिशतले बढेर ४९५.६५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी माछापुच्छ्रे बैंकको डिबेन्चरको मूल्य पनि ९०.३० रुपैयाँले वृद्धि हुँदै १२ सय ५.५० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यस दिन जोशी हाइड्रो पावरको शेयर मूल्य सबैभन्दा धेरै ५.५७ प्रतिशत अर्थात् १९.३१ रुपैयाँले घटेर ३२७.७४ रुपैयाँमा अन्तिम कारोबार भएको छ। युनीलिभर नेपाल लिमिटेडको शेयर मूल्य १ हजार ६३८ रुपैयाँले घट्दै ४५ हजार २५० रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी यस दिन पञ्चकन्या माइ हाइड्रो पावर, पियोर इनर्जी लिमिटेड र बुटवल पावर कम्पनी लिमिटेडको शेयर मूल्य पनि सर्वाधिक घटेको छ।
आज साहस ऊर्जा लिमिटेड, बुटवल पावर कम्पनी, युनियन हाइड्रो, नाग्दी ग्रुप र राधि जलविद्युत कम्पनीको शेयर सर्वाधिक कारोबार भएको छ।