नारायणगढ–बुटवल सडक खण्डमा बाढीका कारण फेरि आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ। बिहीबार बेलुकी एकतर्फी खुलेको सडक रातिदेखि पुनः दुईतर्फी बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले जनाएको छ।
प्रहरीका अनुसार विनयी खोलामा आएको बाढीले डाइभर्सन सहित काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको एक यात्रुवाहक बसलाई समेत बगाएको हो। तर, बस धेरै नबगेको र सबै यात्रुको सकुशल उद्धार गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।
दाउन्ने र दुम्कीबास क्षेत्र आसपास वर्षा भएपछि सडक हिलो र चिप्लो हुने समस्या देखिन थालेपछि प्रहरीले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
पूर्वबाट पश्चिम गइरहेका सवारी साधनलाई नारायणगढ–मुग्लिन–पोखरा–स्याङ्जा–बुटवल मार्ग र काठमाडौँबाट पश्चिम गइरहेका गाडीलाई मुग्लिन–पोखरा–स्याङ्जा–बुटवल मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। 
त्यस्तै, पश्चिमबाट पूर्व आउने गाडीले बुटवल–स्याङ्जा–पोखरा–मुग्लिन मार्ग र साना सवारीसाधनले अवस्था हेरी कालीगण्डकी करिडोर अन्तर्गत गैँडाकोट–पिपलडाँडा सडकको प्रयोग गर्न सक्ने प्रहरीले जनाएको छ।