काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले चार वडाध्यक्षलाई पुरानै जिम्मेवारी दिएका छन्।
मेयर शाहले वडाध्यक्षहरू आशाराम संगत, मचाराजा महर्जन, ख्यामराज तिवारी र नवीन मानन्धरलाई क्रमशः सम्पदा तथा पर्यटन समिति, विधायन समिति, सुशासन समिति र सूचना तथा प्रविधि समितिको जिम्मेवारीमा फर्काएका हुन्।
उनले यसअघि चारै जनालाई समितिको जिम्मेवारीबाट हटाएका थिए। मेयर शाहले आफूहरूलाई हटाएको भन्दै वडाध्यक्षहरू विरोधमा उत्रिएका थिए।
उनीहरूले कार्यपालिकाको निर्णयविना आफूखुसी निर्णय नगर्न मेयर शाहलाई चेतावनी समेत दिएका थिए भने नयाँ जिम्मेवारी पाएका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापति, वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की र वडा नम्बर ८ का अध्यक्ष विनोदकुमार राजभण्डारीले संयुक्त हस्ताक्षर गर्दै कार्यपालिकाले जिम्मेवार अनुमोदन नगरेको भन्दै मेयर बालेनलाई पत्र पठाएर पद अस्वीकार गरेका थिए।
विधायन समितिको जिम्मेवारी भने वडा नम्बर १६ कि अध्यक्ष रोजिना श्रेष्ठलाई दिइएको थियो। पछिल्लो समय कार्यपालिका बैठक समेत राख्न नसकिरहेका बेला कार्यपालिका र नगरसभा सदस्यहरूले मेयरमाथि निरन्तर दबाब दिँदै आएका छन्।
उपप्रमुख सुनिता डंगोलको अगुवाइमा कार्यपालिका र नगरसभाको अनौपचारिक बैठक बसेर निरन्तर दबाब दिएपछि मेयर शाह पछिल्लो समय आफूले गरेका केही निर्णयबाट पनि पछि हटेका एक वडाध्यक्षले बताए।
