खोकना ललितपुरको एक प्राचीन बस्ती हो। प्राचीन तथा मध्यकालीन वास्तुकला, खेतीयोग्य रमणीय फाँटहरू र नेवार समुदायको ऐतिहासिक कलाकृति सजिएको खोकनाको भिन्न पहिचान छ।
मध्यकालीन कला, संस्कृति, वास्तुकला र जीवनशैलीले परिचित यो ठाउँ ‘तोरीको तेल’का कारण प्रख्यात छ। खेतीयोग्य जमिन मासिएर तोरी उत्पादनमा कमी आएपनि खोकनाले परम्परागत प्रविधिबाट तोरीको तेलको उत्पादन गरिरहेको छ।
२८ वर्षदेखि परम्परागत तोरी मिल (कोल) मार्फत तेल उत्पादनमा सक्रिय खोकनाकी मिना डंगोलको दिनचर्या शुद्ध तोरीको तेल उत्पादन गर्नमै बितिरहेको छ।
ललितपुर महानगरपालिका भित्र पर्ने खोकनामा मिल सञ्चालन गरिरहेकी उनी आफ्नै हातले तोरी भुटेर कोलमार्फत शुद्ध तोरीको तेल निकाल्न व्यस्त हुने गर्छिन्।
‘२८ वर्ष भयो यसरी काम गरेको। पहिले मामाहरूले गर्नुहुन्थ्यो अहिले हामीले सम्हालेका छौँ। परम्परा जोगाउनकै लागि भएपनि व्यवसाय छाड्न सकेका छैनौँ,’ उनले भनिन्,‘दुई जना काम गर्ने छन्। उनीहरूसँगै दिनभर यतै व्यस्त हुन्छु। खाना र खाजासहित काम गर्नेलाई दिनको एक हजार रुपैयाँ दिनुपर्छ। खर्च धेरै छ नि।’
मिनाको एउटै उद्देश्य छ– मिल कायमै रहोस् यसको चलन नहटेस्। आफ्नो परम्परा र संस्कृति जोगाउनकै लागि भएपनि जसोतसो मिल सञ्चालन गर्नुपरेको उनले बताइन्। 
‘यसबाट खासै फाइदा छैन। परम्परा र संस्कृति जोगाउनकै लागि भएपनि काम गरिरहेका छौँ। श्रीमानले बेला मौका सहयोग गर्नुहुन्छ। तेल बजारसम्म पुर्‍याउन छोराछोरी पनि सहयोग गर्छन्। तर तोरी पाउनै मुस्किल छ। उत्पादन हुनै छाड्यो,’ उनले भनिन्,‘ आफ्नै जग्गामा उत्पादन भएको तोरीबाट तेल उत्पादन गरेका हौँ। तेल पिसेर रहेको पिना खेतबारीमै हाल्छौँ र माटो मलिलो बनाउँछौँ, बाँकी रहेको विक्री पनि हुन्छ।’
तेल बनाउँदा सुरुमा तोरीलाई छानेर सफा गर्नुपर्ने, मेसिनमा राखेर फुटाउनुपर्ने र ठुलो हाँडीमा राखेर भुटेर ठुलो झोलामा राखेर परम्परागत काठको हत्थाको सहायतामा काठका दुई वटा मुडाले च्यापेर तेल निकाल्ने गरेको उनले जानकारी दिइन्।
 ‘यही परम्परागत कोलमा राखेर तेल निकालिने भएकाले मिठो बास्ना आएको हो। जसका कारण खोकनाको तेलका रूपमा लोकप्रिय भएको हो,’ उनले अगाडि भनिन्,‘ जति नै आधुनिक मेसिनहरू आएपनि परम्परागत रूपमा काम गर्दा बेग्लै आनन्द आउँदो रहेछ, गुणस्तर पनि जोगिने रहेछ।’
आफ्नै मिलबाट उत्पादित तेल दिनमा ५० लिटरसम्म विक्री गरेको मिनाको अनुभव छ। ‘कुनै दिन ५० लिटर पनि जान्छ कुनै दिन सात लिटर मात्रै विक्री हुन्छ। व्यापारको कुनै टुङ्गो हुँदैन,’ उनले भनिन्। 
पहिला पहिला तोरी सस्तो भएकाले तेलको व्यापार पनि राम्रो हुने गरेको तर हाल मंहगो भएकाले विगतको जस्तो व्यापार हुन नसकेको उनको गुनासो छ। 
मानाकी अनुसार मेसिनबाट उत्पादन गरिएको तेल छिट्टै बिग्रिने गरेकाले परम्परागत कोलकै प्रयोग गरिएको हो। ‘तोरी महँगो भएपछि तेल महँगो हुने भएकाले ग्राहकले किन्न मान्दैनन्। तर पनि आफूले जानेको सीप यही भएकाले निरन्तरता दिएको हुँ। तेल लिटरको बट्टा लिएर आउनेलाई ३६० र बट्टा नलिई आउनेलाई ३७० लिने गरेको छु। महिनामा सरदर पाँच सय लिटर सम्मको व्यापार हुन्छ,’ उनले भनिन्।
नयाँ प्रविधिका मेसिनहरूबाट तेल निकाल्दा बास्ना नआउने गरेकाले पुरानै काठका औजारहरू प्रयोग गर्ने गरेको बताइन्।  ‘काठले च्यापेर निकालिएको तेल बर्षौंसम्म प्रयोग गर्दा पनि हुन्छ, बिग्रिँदैन,’ उनले सुनाइन्।