मुलुकमा गणतन्त्र स्थापना गर्न योगदान पुर्याएकाहरुको सम्झनामा सरकारले ४५ करोड खर्चेर नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण गरेको गणतन्त्र स्मारक पार्क सुनसान छ। सरकारी बेवास्ताका कारण पार्क बेवारिसे अवस्था पुग्ने चिन्ता छ।
काठमाडौँ महानगरपालिकाको नागपोखरी नजिक ३५ रोपनी क्षेत्रफलमा फैलिएको पार्कमा घुम्न जानेको सङ्ख्या दैनिक ५० जना पनि पुग्दैन। थप लगानी गरेर पार्कलाई आकर्षक बनाउने, सुविधा थप गर्ने र प्रचार प्रसार व्यापक गर्ने सरकारको योजना पनि ओझेल परेको छ।
सरकारी कार्यालय समयमा खुल्ने र बन्द हुने भएकाले पनि स्मारकमा आवतजावत कम देखिन्छ। तर सरकारी अधिकारीहरू पार्क क्षेत्रमा अवलोकनकर्ताको सङ्ख्या वृद्धि भएको दाबी गर्छन्।
नारायणहिटी दरबार सङ्ग्रहालयका सूचना अधिकारी पुरुषोत्तम थापाले पार्कभित्र विभिन्न फिल्म, टेलिफिल्म र गीतहरूको सुटिङ हुने गरेको एवम् विद्यार्थी अवलोकन भ्रमणमा आउने गरेको बताए।
‘पार्क प्रवेशका लागि न्यूनतम शुल्क निर्धारण गरेका छौँ। स्वदेशी एवम् विदेशी नागरिकलाई प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क लिने गरेका छौँ। पार्कको आकर्षण भनेको शान्त वातावरण, ढुङ्गामा कोरिएको नेपालको संविधानको पुस्तक, आकर्षक बगैँचा, विशेष किसिमका बत्ती, सहिदका नाममा बनाइएका संरचनाले सबैलाई तानेको छ,’ थापाले भने।
सर्वसाधारणको भिडभाड बढ्दै गएकाले बजेट थप गरेर संरक्षणको तयारीमा सरकार जुटेको उनले बताए। तर स्मारकभित्र राखिएका सामग्री, शिलालेख, मूर्तिहरू फोहोर देखिन थालेका छन्।
सरकारी निकायका अधिकारीहरूले खर्च गरेअनुसार पार्कले सफलता प्राप्त गरेको दाबी गरे पनि स्थानीयवासी भने उपयुक्त ठाउँमा पार्क निर्माण नभएको स्थानीयवासीको भनाइ छ।
सहरी विकास कार्यालयको भवन निर्माण विभागले २०६९ चैतबाट गणतन्त्र स्मारक निर्माण सुरु गरेको थियो। स्मारकको २०७६ जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन्। तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गणतन्त्र स्मारक शिलान्यास गरेका थिए।
तर स्मारक क्षेत्र हाल खुइलिएको, रंगरोकन मेटिएको, झारपातले जेलिन थालेको स्थानीयको भनाइ छ। तर पार्कको अवस्था हेर्दा गणतान्त्रिक सरकारलाई नै गणतन्त्र स्मारकले गिज्याइरहेको जस्तो लाग्छ। पार्कभित्र सीमित मात्रमा पर्यटक आउने गरेका छन्।
गणतन्त्र स्थापना लगत्तै २०६५ सालमा ल्याइएको बजेटमा गणतन्त्र स्मारक बनाउन रकम विनियोजन गरिएको थियो। स्मारकमा गणतन्त्र प्राप्तिका लागि भएका सङ्घर्ष र बलिदानको सम्झना गराउने तस्बिर, वस्तु र कलाकृति राखिएका छन्। ढुङ्गा खोपेर पुस्तकको आकार बनाइएको छ र त्यसमा ‘नेपाल संविधान २०७२’ लेखिएको छ। स्मारकमा १२ मिटर उचाइका चार वटा स्तम्भहरू छन्।