नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युतीय सवारी साधनलाई अपनाएर यसलाई प्रवर्द्धन गर्न खोजिरहेको बताएका छन्।
शनिवार सगरमाथा संवादमा बोल्दै उनले हाल नेपालमा भएको विद्युतीय सवारी साधन धेरै नै कम भएको भन्दै यसलाई बढाउन निजी चार्जिङ स्टेसनहरूलाई पनि प्रोत्साहन गरिरहेको बताए।
उनले सुरुवातमा ६२ वटा चार्जिङ स्टेसनहरू भएपनि अहिले सात सयभन्दा बढी चार्जिङ स्टेसनहरू रहेको भन्दै त्यसलाई प्राधिकरणले ११ केबीको मध्यम भोल्टेज विद्युत् दिएर प्रवर्द्धन गरिरहेका बताए।
उनले भने, ‘हामी विद्युतीय सवारी साधनलाई अपनाएर यसलाई प्रवर्द्धन गर्न खोजी रहेका छौ। नेपालमा धेरै विद्युतीय सवारी साधनहरू छन् तर अझै पनि यातायात व्यवस्था पर्याप्त छैन। त्यस कारण हामीले देशभर चार्ज गर्ने स्थान बढाउनुपर्छ। पहिला हामीसँग ६२ वटा चार्जिङ स्टेसनहरू थिए भने अहिले निजी चार्जिङ स्टेसनहरूलाई पनि प्रोत्साहन गरिरहेको हुनाले सात सयभन्दा बढी स्टेसनहरू छन्। प्राधिकरणबाट ती चार्जिङ स्टेसनहरूमा ११ केबीको मध्यम भोल्टेज विद्युत् जान्छ। यसरी विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गरिरहेका छौ।’
यस्तै, उनले नेपालमा सडकमा गुड्ने ठुला ट्रक र बसहरू सबै पेट्रोलबाट चल्ने हुनाले सबैलाई विद्युतीय सवारी साधनमा परिणत गर्ने प्रक्रिया र नियमन आवश्यक भएको पनि बताए।
उनले भने, ‘विद्युतीय सवारी साधनको कुरा आएको छ। अहिले नयाँ विद्युतीय सवारी साधन भित्राउने योजनामा छौ तर यो काम गर्दै गर्दा रोडमा गुड्ने ट्रक र ठुला बसहरू सबै पेट्रोलबाट चल्ने साधन हुन्। यी सबैलाई विद्युतीय सवारी साधनमा परिणत गर्नुपर्छ भनेर प्रयास गरिरहेका छौ। तर यसमा धेरै चुनौतीहरू छन्। हामीले यो विगत २० वर्षदेखि गर्न खोजिरहेका छौँ। तर विद्युतीय सवारी साधनमा परिणत गर्ने र यसलाई नियमन गर्ने काम गर्न सकिरहेका छैनौ।’
उनले नेपालमा ९५ प्रतिशत जनताको पहुँचमा विद्युत् पुगेको पनि बताए।