जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहनुको साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।
जसका कारण अहिले मधेस प्रदेशको पश्चिमी भूभाग, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा मौसम साधरणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ। बागमती, गण्डकी र लुम्बिनी लगायत अन्य प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित वर्षा पनि भइरहेको छ।
आज, दिउँसो भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशको पहाडी भूभागका थोरै स्थान चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने बाँकी भूभागमा मौसम सफादेखि सामान्य बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भने हल्का वर्षासहित हिमपातको सम्भावना छ।
यस्तै, आज राति बागमती प्रदेशको पहाडी क्षेत्रमा साधरणतया बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।