रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने जानकारी दिएको छ।
शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै विभागले सार्वजनिक सेवा प्रवाहमा निखारता ल्याउने जानकारी दिएको हो। 
विभागका अनुसार राम्रा असल र जनमुखी रचनात्मक कार्यहरू सम्पादन गरी संविधानले परिकल्पना गरेका विषयहरू र सरकारले लिएका सङ्कल्प र नीतिहरूको अर्थपूर्ण कार्यान्वयन गरी आगामी दिनमा वैदेशिक रोजगार विभागको सेवा प्रवाहमा गुणात्मक एवं रचनात्मक सुधार आउने कुरामा विभाग विश्वस्त रहेको छ।
भूमण्डलीकरणको प्रभाव सार्वजनिक सेवा प्रवाहका नवीनतम विधि प्रविधि नवीनतम सोच एवं सङ्कल्पलाई मूर्त रूप दिन थप सकारात्मक पहल गर्दै सूचना प्रविधिमा आधारित सेवा प्रवाहलाई थप प्रभावकारी र संस्थागत गर्दै लगिने पनि विभागको प्रतिबद्धता रहेको छ। 
साथै, सार्वजनिक सेवाको क्षेत्रमा देखिएका वैदेशिक रोजगारी ठगी, राहत, उद्धार, अनुगमन र नियमनमा थप प्रभावकारी कदम चाल्न वैदेशिक रोजगार विभाग तत्पर र क्रियाशील रहने पनि उल्लेख गरेको छ।
विभागले हाल गरिरहेको र आगामी दिनमा अपनाइने रणनीतिहरू ः
१. राहत उद्धार शाखा
क. वैदेशिक रोजगारीको क्रममा संस्थागत रूपमा वैदेशिक रोजगार व्यवसायीका काम कारबाही विरुद्ध भएका राहत उद्धारका गुनासोहरू तत्काल सुन्ने गरिएको। यथाशक्य चाँडो पीडितको गुनासो सुन्ने, व्यवसायीलाई र पीडितलाई सँगै राखेर छलफल गर्ने गरेको। मिलापत्रको माध्यमबाट पीडितलाई राहत दिने गरिएको, हाल राहतका पुराना कुनै पनि उजुरी र गुनासाहरू नरहेको।
ख. पीडितमैत्री कार्य व्यवहार र शैलीको प्रभावकारिताले कतिपय पीडितहरूले न्याय पाए पश्चात् विभागको कार्यशैलीलाई धन्यवाद समेत दिने गरेको। आगामी दिनहरूमा अझै प्रभावकारी र क्रियाशील,
२. प्रशासन शाखा
क. पुराना फाइलिङ व्यवस्थापनमा जोड दिइएको, कार्यालय सरसफाइ साथै कर्मचारीलाई अनुशासित र मर्यादित हुन जोड दिइएको। सेवा प्रवाहको शैली, विधि, प्रक्रिया र व्यवहारमा सेवाग्राही मैत्री वातावरण अङ्गीकार गरिएको।
ख. संस्था शाखाबाट सम्पादन हुँदै आएको काममा छिटो छरितो र फुर्तिलोपन अपनाई मुस्कान सहितको सेवा प्रवाहमा जोड दिइएको,
३. मुद्दा शाखा
क. सत्य र तथ्यमा आधारित रही कानुनको मान्य सिद्धान्त, मूल्य र मान्यतालाई आत्मसात् गरी पीडितमैत्री न्याय प्रणालीको विकासमा जोड दिइएको, 
ख. मुद्दा, अनुसन्धान र अभियोजन गर्ने कार्यमा चुस्तता,
४. अनुगमन शाखा
क. संस्थाहरूको गुनासो आउनसाथ परिचालन गरी अनुगमन र नियमन गर्ने गरिएको 
ख. अनुगमनलाई निरन्तरता दिइएको, अनुगमनको ढाँचा एवं कार्यविधि परिमार्जन गरी लागू गरिएको,
५. श्रम स्वीकृति शाखा
क. श्रम स्वीकृतिको सेवा प्रवाह मान्यता अनुसार रितपूर्वकको अनलाइन दरखास्त फारम प्राप्त पश्चात् चेकजाँच गरी आवेदन दिएकै दिन स्वीकृति प्रदान गर्ने व्यवस्थालाई अबको तीन दिन भित्र कार्यान्वयनमा ल्याइन। त्यसपछि केही दिन भित्रै क्रमशः आवेदन गरेको २ घण्टा भित्र र त्यसपछि १ घण्टा भित्र वा सो भन्दा कम अवधिमा नै स्वीकृति प्रदान गरिनेछ,
ख. रित नपुगेको अनलाइन दरखास्तको हकमासहित थप कागजात पेश गर्न तत्कालै एसएमएस पठाउने गरिएको। रितपूर्वकका कागजात पेश भएको खण्डमा तत्काल श्रम स्वीकृति दिने गरेको।