दुई महिनादेखि बेलायतमा बस्दै आएकी जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले इमेलमार्फत पठाएको राजीनामा स्वीकृत गर्न प्रदेशसभाले अस्वीकार गरेको छ।
प्रदेशसभाले हस्तलिखित राजीनामा पत्रमा आशङ्का व्यक्त गर्दै स्वयं उपस्थिति हुन आग्रह गरेको हो। प्रदेशसभा सचिवालयले थप विवरणसहित स्पष्ट जानकारी माग गर्दै सांसद गुरुङलाई पत्राचार पनि गरेको छ।
मङ्गलवार प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएको दाबी गर्दै उनका श्रीमान् कैलाश गुरुङले उक्त पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभ कुमार पुन मगरले इमेलमा गीता गुरुङकै नामबाट राजीनामा पत्र प्राप्त भए पनि प्रक्रिया नपुगेकोले स्वीकृत नगरिएको बताए। पुनले भने, ‘माननीयको लेटरप्याडमा उल्लेख भएको इमेल ठेगानाबाट नभई अर्कै इमेलबाट पठाइएको, सभामुखलाई सम्बोधनको शैली नमिलेको, कुन पदबाट राजीनामा दिएको हो भन्ने खुलाइएको छैन।’
सभामुख तुलाराम घर्तीमगरले प्रदेशसभा सदस्य स्वयं उपस्थित भई हस्ताक्षरको सनाखत गराउन निर्देशन दिएका छन्। प्रदेशसभाबाट पठाइएको पत्रको जवाफ प्राप्त भएमा वा गुरुङ स्वयं उपस्थित भएपछि मात्रै थप प्रक्रिया अघि बढ्ने प्रदेशसभाले जनाएको छ।
रुपन्देहीबाट प्रतिनिधित्व गर्ने पार्टीको समानुपातिकतर्फकी सांसद गुरुङ सभामा सबैभन्दा कम उपस्थिति जनाउने सदस्य हुन्।