रौतहटको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा रु.१० लाख ३८ हजार बराबरको क्षति भएको छ।
गरुडा नगरपालिका–५ मा रहेको ठाकुर ग्रिल उद्योगमा सोमबार बेलुका करिब ९ बजे तिर आगलागी भएको हो।
आगलागीको घटनाका बारेमा जानकारी पाउनका साथ इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक ओम प्रकाश यादवको नेतृत्वको टोली खटिएको थियो। सुरक्षाकर्मी, स्थानीयवासी र वरुण यन्त्र (दमकल) सहयोगमा आगो करिब एक घण्टा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दीपक कुमार रायले बताए।
उनका अनुसार बिद्युत् तार सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ। आगलागीबाट उद्योगमा रहेको टायर, वल्डिङ मेसिन ,मर्मतका लागी राखिएको ट्याक्टर लगायत जलेर क्षति पुगेको उनले जानकारी दिए। आगलागीबाट कुनै प्रकारको मानवीय क्षति नभएको उनको भनाइ छ।
आगलागीमा रु.१० लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ। यस्तै, ईशनाथ नगरपालिका ६ जयनगर बस्ने शेख वसिर अख्तरको पक्की घरको एक कोठामा आगलागी भएको रौतहट प्रहरीले जनाएको छ। आगलागीबाट कोठामा रहेका टि.भी, पलङ र साइकल लगायत जलेर क्षति भएको प्रहरीको भनाइ छ। घरको कोठामा मात्र आगलागी भएकाले करिब ३८ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।