नेकपा एमाले मकवानपुरले हेटौँडामा जागरणसभा गरेको छ। हेटौँडाको मुख्य बजार लोकतान्त्रिक चोकमा नेपाल कम्युनिष्ट पार्टी एमालेले जागरण सभाको आयोजना गरेको हो। सभा सुरु हुनु अगाडि हेटौँडा बजारको चारैतिरबाट र्याली निकालिएको थियो।
सोमबार हेटौँडाको पूर्वमा सानो पोखरा, पश्चिममा हेटौँडा हस्पिटल, उत्तरमा चौकी टोल ओरालो र दक्षिणमा फरेष्ट्रि गरी चार स्थानबाट र्याली निस्किएर मेनरोडको लोकतान्त्रिक चोकमा कोणसभा गरिएको थियो।
सभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले राजावादीको आन्दोलनमा देखिएको अराजकतामा संलग्नहरूलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने बताए।
कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमिण पौडेलले राजावादीहरूको अराजकताले सीमा नाघेको बताए। लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सम्वद्र्धनका लागि एमाले मकवानपुरले जागरणसभा आयोजना गरेको अध्यक्ष श्रीधर पोख्रेलले बताए। जिल्लाका १० वटै पालिकाबाट नेता, कार्यकर्ताहरू हेटौँडामा आएर गणतन्त्रको पक्षमा जागरण गराउने काम भएको हो।
यसैगरी गणतन्त्रमाथि भइरहेको प्रहारका बारेमा जनमानसलाई सचेत पार्नका लागि नेकपा एमालेले हेटौँडामा आयोजना गरेको जागरण सभा अन्तर्गत मनहरिबाट हेटौँडासम्म मोटरसाइकल र्याली गरिएको छ। नेकपा एमाले मनहरी गाउँ कमिटीले व्यवस्थापनमा मोटरसाइकल ¥याली गरिएको हो।