राप्रपाका सम्पूर्ण संयोजित सङ्गठनले कुलमान घिसिङलाई हटाइएको विरोध प्रदर्शन गरेका छन्।
बिहीबार माइतीघर मण्डलामा सरकारको कुलमान घिसिङलाई हटाउने निर्णय गलत भएको भन्दै सङ्गठनहरूले विरोध प्रदर्शन गरेका हुन्।
सोही क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य खुस्बु ओलीले कुलमानलाई हटाएर सरकारले एकदमै अन्याय गरेको बताएकी छन्।
उनले राम्रो काम गर्नेहरूलाई अपमान गर्ने, राम्रो काम गरेको देख्न पनि नसक्ने जस्तो परिपाटी अहिलेको सरकारले देखाएको भन्दै यसरी सरकारले आफ्नो चरित्र र नैतिकता देखाई रहेको बताइन्।
उनले भनिन्, ‘कुलमान जीको कुरामा यो सरकारले एकदमै अन्याय गरेको हो। राम्रो काम गर्नेहरूलाई अपमान गर्ने, आफू पनि राम्रो काम नगर्ने राम्रो काम गरेको देख्न पनि नसक्ने जस्तो परिपाटी अहिलेको सरकारले देखाउनु भएको छ। कुलमानलाई हटाउनु वा बालेनलाई असहयोग गर्नु यो सबै एउटै खालका कुराहरू हुन्। सरकारले आफ्नो चरित्र र नैतिकता देखाई रहेको छ। जुन अत्यन्तै गलत छ। कुलमानको विषयमा यो राज्य प्रतिगमन तर्फ लागेको अनुभूति भएको छ।’
यस्तै, उनले लोडसेडिङबाट देशलाई मुक्त गर्ने कुलमानलाई सम्मान गर्नुपर्ने ठाउँमा कार्यकालको तीन महिना मात्र बाँकी हुँदा यसरी हटाउनु ऊर्जा मन्त्री दीपक खड्का, प्रधानमन्त्री, प्रचण्ड र देउवाप्रति जति निन्दा गरेपनि कम हुने बताइन्।
यसको साथै प्रदर्शनमा नेपाली जनताले के भन्छ, कुलमान घिसिङ ले भन्छ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्ने नारा लगाएका थिए भने भ्रष्ट सरकार खारेज गरौँ, अवस्था बदल्न व्यवस्था बदलौँ भनेर लेखको प्ले कार्ड बोकेका थिए।