प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले समय परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएका छन्। 
आइतबार राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको टुगेदर फर टुमरो : युथ एण्ड द प्राइमिनिस्टर कार्यक्रममा उनले भने,‘समस्याहरू छन्, तिनको कारण छ र समाधान पनि छ भन्दै त्यसतर्फ सरकारले काम अगाडि बढाएको छ।’
उनले आफूले नै डिजिटल नेपालको नारा दिएको र त्यसले प्रविधिको क्षेत्रमा ठुलो परिवर्तन ल्याएको बताए।
उनले भने,‘हामीले थुप्रै मेडिकल कलेजहरू बनायौँ। प्रत्येक पालिकामा आधारभूत तहका अस्पताल बनाउने भनेर अगाडि बढायौँ। कतिपय बनिसकेका छन् भने कति तयार हुने क्रममा छन्। त्यसले नेपालको स्वास्थ्य क्षेत्रमा ठुलो परिवर्तन ल्याउने छ। सरकार शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडि बढेको छ। हाम्रा छोरीहरूले विशेषज्ञ चिकित्साको सपना देख्नुभएको छ, त्यो बन्ने प्रतीक्षामा हुनुहुन्छ, कतिले अहिले विशेषज्ञ भएर सेवा गरिरहनु भएको छ, यो अहिलेको समयको उपलब्धि हो। हामी भावनात्मक ढङ्गले चल्नु हुँदैन, अहिले जति पनि समस्याहरू छन्, ती विकासको गतिसँगै आएका हुन् त्यसलाई व्यवस्थित गरी हामी अगाडि बढ्नुपर्छ।’
प्रधानमन्त्री ओलीले उद्यमशीलताबाटमात्रै रोजगारीका अवसर सिर्जना र कृषिको आधुनिकीकरणबाट मात्रै उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने भएकोले त्यसमा लाग्न आग्रह गरे।