नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको विश्वसनीयता सकिएकै कारण राजतन्त्रवादी हौसिएको बताएका छन्। 
मङ्गलवार प्रतिनिधिसभाको बैठकमा उनले वर्षौसम्म बन्द कोठामा समेत राजतन्त्र पुनस्थापनाको सपना देख्न डराएकाहरू आज सडकमै आएर राजतन्त्र पुनस्थापनाको चुनौती दिन थालेको भन्दै यो सरकारको कमजोरीले गर्दा भएको बताए। 
उनले भने, ‘सरकारको विश्वसनीयता सकिएकै देखेर आज पुरातनपन्थी राजतन्त्रवादी हौसिएका छन्। वर्षौसम्म बन्द कोठामा समेत राजतन्त्र पुनस्थापनाको सपना देख्न डराएकाहरू आज सडकमै आएका छन् र सडकबाटै राजतन्त्र पुनस्थापनाको चुनौती दिन थालेका छन्। राजावादीहरूको यो चहलपहलका पछाडि सङ्गठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ । यसमा देश भित्र र बाहिरका चलखेल पनि मिसिएका छन्।’
यसको साथै, उनले जनताको बलिदान र लामो सङ्घर्षबाट प्राप्त उपलब्धीलाई उल्टाउने कोशिस भएको भन्दै अब एकातिर सरकारका गलत क्रियाकलापका विरुद्ध र अर्का तिर प्रतिगामी चलखेलका विरुद्ध एकैसाथ जुध्नु पर्ने अवस्था सिर्जना भएको पनि बताए। 
उनले भने, ‘जनताको बलिदान र लामो सङ्घर्षबाट प्राप्त उपलब्धीलाई उल्टाउने कोशिस हुदैँछ। हामीले अब एकातिर सरकारका गलत क्रियाकलापका विरुद्ध र अर्का तिर प्रतिगामी चलखेलका विरुद्ध एकैसाथ जुध्नु पर्ने अवस्था सिर्जना भएको छ। सरकारको बेतिथि र असफलताले जनतामा व्यवस्थाप्रति नै निराशता बढाउँदै लगेको छ। सरकारमा बसेका साथीहरूलाई मेरो प्रश्न छ, हरेक वर्ग र समुदायले अब आन्दोलन बाहेक अरू विकल्प नै देख्न छाडेको हो ?’