गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सरोकारवाला सबै मिलेर काम गर्नु पर्ने बताएका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका १३ स्थित प्रादेशिक आपतकालिन गोदामघर हस्तान्तरण कार्यक्रममा गृहमन्त्री लेखकले काठमाडौँमा रहेको आपतकालिन गोदामघरलाई केन्द्रीय आपतकालिन गोदामघरको रूपमा विकास गर्ने सरकारी योजना रहेको बताए।
उनले वैदेशिक सहयोगबाट प्राप्त सामाग्री तथा सरकारले खरिद गरेरै प्रदेशमा रहेका आपतकालिन गोदामघरमा आवश्यक विपद् सामाग्री उपलब्ध गराइने पनि बताए।
सरकारले प्रदेशलाई हस्तान्तरण गरिएका आपतकालिन गोदामघरको रेखदेख गर्ने जिम्मेवारी अब प्रदेश सरकारको भएको उनले बताए।
गृहमन्त्री लेखकले विपद्को समयमा प्रदेश सरकारसँगको समन्वयमा काम गर्न मातहतका निकायलाई निर्देशन दिए।
त्यस क्रममा गृहमन्त्री लेखकले प्रादेशिक आपतकालिन गोदामघर मुख्यमन्त्री कमल बहादुर शाहलाई हस्तान्तरण गरे।